काठमाडौं ।
द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि रणनीतिक सम्झौता सम्पन्न भएको छ। यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’ को रूपमा रहनेछ। उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान भएको क्यानको दावी छ।
देशव्यापी नवप्रवर्तन (इनोभेसन) र प्रादेशिक पहुँच नेपालको उद्यमशीलता केवल काठमाडौं उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ।
नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिनेछ। नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ। नवप्रवर्तनकारी आइडियाहरूलाई पुँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिने बताइको छ।
साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन्।
द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ कँडेलले भने, ‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ।’
क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले भने, ‘क्यान महासंघ स्थापनाकाल देखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ। द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधि उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ।’
प्रकाशित: २६ असार २०८३, शुक्रबार