दूरसञ्चार विधेयकमा चलखेल, एनसेललाई बचाउनका लागि सञ्चारमन्त्री र दूरसञ्चार प्राधिकरण अध्यक्ष बिचनै देखियो प्रतिस्पर्धा
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार विधेयकको मस्यौदामा आएका संसोधन सुझावहरु समेटेर सूचना तथा सञ्चार मन्त्रालयमा पठाएको छ।
सञ्चार मन्त्रालयले सरोकारबालाहरुसँग छलफल गरेर सुझाव दिन भनेअनुसारनै दूरसञ्चार क्षेत्रको नियामकले संसोधनसहितको दूरसञ्चार विधेयकको मस्यौदा मन्त्रालयमा फिर्ता गरेको हो।
उक्त विधेयकमा सरकार र नियामक निकायले व्यापक र गंभिर प्रस्तावहरु गरेको देखिन्छ। टेक्नोलोजीखबरले पाएको सञ्चार मन्त्रालयको दूरसञ्चार विधेयक मस्याैदा तथा प्राधिकरणले संसोधनसहित पठाएको दूरसञ्चार विधेयक मस्याैदाहरु हेर्दा सञ्चार मन्त्री र दूरसञ्चार प्राधिकरणका अध्यक्ष बिच अमुक कम्पनीलाई कसरी सुबिधा दिने र बचाउने भन्ने बारेमा ‘तँछाडमछाड’ जस्तो प्रतिस्पर्धा देखिन्छ।

यसअघि सञ्चार मन्त्रालयले सुझाव उपलब्ध गराउन भन्दै पठाएको दूरसञ्चार विधेयकको मस्यौदामा सरकारले ५० प्रतिशत भन्दा बढि विदेशी लगानी भएको कम्पनीले ५१ प्रतिशत स्वदेशी बनाउने सुबिधा दिँदै सरकारको अधिनमा नआउने अवस्था बनाउने प्रावधान राखिएको छ।
मन्त्रालय पठाएको दूरसञ्चार विधेयक मस्यौदाको दफा ३८ मा लेखिएको छ, ‘जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको पच्चीस वर्ष अवधि समाप्त भएपछि त्यस्तो पूँजी लगानीको कम्तीमा एकाउन्न प्रतिशत स्वदेशी व्यक्ति वा स्वदेशी संस्थाको लगानी कायम गरी पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई सेवा सञ्चालन गर्न सक्नेछ।’
यस्तो ५० प्रतिशत भन्दा धेरै विदेशी लगानी भएको र अनुमति पत्र भएको एक मात्र कम्पनी हाल एनसेल आजियाटा लिमिटेड रहेको छ। उक्त कम्पनीको अनुमति पत्रको अवधि २५ वर्ष पुरा हुन केहि वर्ष मात्र बाँकी छ। यसबिचमा नियामक निकायले उक्त कम्पनीलाई अधिनमा ल्याउने पहिलो प्रकृयाअन्तरगत पत्र पठाएर कुनैपनि सम्पत्ति बेचबिखन गर्न रोक लगाईसकेको छ।
यसैबीचमा सोही कम्पनीलाई मात्रै लाभ हुने गरी नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार पारिएको छ।
यसमा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना र प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे बिच प्रतिस्पर्धानै चलेको जस्तो देखिन्छ। मन्त्रीको नेतृत्वमा रहेको मन्त्रालयले एनसेलका लागिनै विशेष व्यवस्था राखेर मस्यौदा तयार पारेको छ। जसले पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको कम्पनीले पच्चीस वर्ष अवधि समाप्त भएपछि एकाउन्न प्रतिशत स्वदेशी व्यक्ति वा स्वदेशी संस्थाको लगानी कायम गरेमा पुनः अनुमति पत्र पाउने व्यवस्था राखेको छ।
यो प्रावधान हालका लागि हेर्दा केवल एनसेलका लागि मात्र मन्त्रालयले ल्याएको हो जस्तो देखिन्छ। जसमा लाइसेन्सको अवधि हालकै ऐनअनुसार २५ वर्ष तोकिएको छ।
तर त्यसभन्दा एक कदम अगाडि गएर घिमिरे नेतृत्वको नियामक निकाय प्राधिकरणले लाइसेन्स अवधिनै बढाएर ३० वर्षको बनाउने मस्यौदामार्फत ल्याएको छ।
दुबै निकायहरुले एनसेलका लागि भनेरनै विशेष प्रावधान ल्याएको जस्तै देखिन्छ तर सो बारेमा दुबै निकायका नेतृत्वहरुले अस्वीकार गरेका छन्।
लाइसेन्स अवधि ३० वर्ष
नियामकले मन्त्रालयमा पठाएको र टेक्नोलोजीखबरले पाएको उक्त दूरसञ्चार विधेयक मस्यौदाको दफा ३८ मा नेपाल सरकारको स्वामित्व हुने व्यवस्था राखिएको छ, जसको उपदफा १ मा लेखिएको छ, “जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको तीस वर्ष अवधि समाप्त हुनुअघि त्यस्तो पूँजी लगानीको कम्तीमा एकाउन्न प्रतिशत लगानी स्वदेशी व्यक्ति वा स्वदेशी संस्थाको लगानी कायम गरी पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र नवीकरण गरी सेवा सञ्चालन गर्न सक्नेछ।”
यसले स्पष्टरुपमा दूरसञ्चार सेवाको अवधिलाई २५ वर्षबाट बढाएर ३० वर्ष पुर्याउने देखिन्छ। हालको ऐनमा अनुमति पत्रको अवधि अधिकतम २५ वर्ष मात्र रहेको छ भने प्राधिकरणले मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा त्यसलाई थपेर ३० वर्ष पुर्याइएको देखिन्छ।
३० वर्ष झुक्किएर पर्यो कि भन्ने हो भने पनि सोही दफाको अर्को उपदफामा पनि अनुमति पत्रको अवधिलाई ३० वर्षनै रहने उल्लेख गरिएको छ।
दफा ३८ को (२) उपदफामा लेखिएको छ, “उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र नवीकरण गरी सेवा सञ्चालन नगरेमा वा अनुमतिपत्र नवीकरण गर्न नसकेमा दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र प्राप्त गरेको तीस वर्ष अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ।”

यसलेपनि अहिलेको एनसेलको अनुमति पत्रको अवधिलाई बढाएर ३० वर्ष पुर्याउने र त्यसपछि पनि सरकारको स्वामित्वमा आउन नदिने गंभिर योजना नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण नेतृत्व र बोर्डले गरेको आकलन गर्न सकिन्छ।
यस विषयमा प्राधिकरणको उच्च नेतृत्व र बोर्ड सदस्यहरु ‘तैँ चुप मै चुप’ हुनु र सञ्चार मन्त्री तिमल्सिनाको नेतृत्वमा रहेको मन्त्रालयलेनै “पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानीलाई एकाउन्न प्रतिशत स्वदेशी लगानी बनाएमा पुनः अनुमति पत्र दिने प्रावधान आश्चार्यजनक तरिकाले राख्नुमा पक्कैपनि तादम्यता रहेको देखिन्छ।
यसले एक आपसमा दोष देखाउने तर भित्रभित्रै मिलेमतो गरिरहेका त छैनन् भन्ने प्रश्न उब्जिएको छ।
यस्तो भन्छन सञ्चारमन्त्रीको सचिवालय ?
मन्त्रालयले तयार पारेको दूरसञ्चार विधेयकको मस्यौदाका बारेमा जानकारी माग्दा सञ्चारमन्त्री तिमल्सिनाको सचिवालयले आश्चार्य व्यक्त गरेको थियो। टेक्नोलोजीखबरले केहि साता अघि मन्त्रालयले प्राधिकरणमा पठाएको विधेयक र त्यसमा लेखिएका प्रावधानहरु बारेमा सञ्चारमन्त्रीको धारणा मागेको थियो। त्यसबेला सचिवालयले मन्त्रालयले तयार पारेको दूरसञ्चार विधेयकको मस्यौदामा मन्त्रालयको नेतृत्व गरेको आधारमा जिम्मेवारी हुने तर मन्त्रीलाई यो विषय थाहा नभएको बताएको थियो।
“दूरसञ्चार विधेयकमा भएका व्यवस्थाहरुको बारेमा सञ्चारमन्त्रीज्यूलाई थाहा छैन्। यसअघिनै तयार भएको उक्त मस्यौदा मन्त्रीज्यूकोमा आइपुगेपछि मात्र भन्न सकिन्छ,” सचिवालय सञ्चारमन्त्रीको भनाईलाई उदृत गर्दै भनेको थियो, “दूरसञ्चार क्षेत्रलाई सुधार्न प्रतिबद्ध छौं र मस्यौदामा केहि त्यस्तो विषयहरु भए सुधार गरिनेछ।”
यसैबीच प्राधिकरणले पठाएको उक्त विधेयकको मस्यौदा बारेमा केहि दिनअघि सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेल नेतृत्वको टोलीसँग छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। “यस बारेमा मन्त्रालयमा छलफल चलिरहेको छ तर ठोस निश्कर्ष आईसकेको छैन्,” मन्त्रालय स्रोतले भन्यो।
उता नियामक निकाय उच्च स्रोतले पनि मन्त्रालयले सरोकारबालाहरुको सुझाव समेटेर पठाउन भनेको हुँदा सोहीअनुसार गरिएको दाबी गरेको छ। “मन्त्रालयको पत्रअनुसार आएको विधेयकको मस्यौदामा यताबाट संसोधन सुझावहरु पठाईएको हो। त्यसमा कुनै व्यापक परिवर्तन गरिएको छैन्,” उच्च स्रोतको दाबी छ।
सिफारिस समिति
नियामक उच्च नेतृत्वले मन्त्रालयले सुझाव मात्र मागेको र संसोधन नगरिएको भन्ने टेक्नोलोजीखबरलाई जवाफ दिएको अवस्थालाई नै स्वीकार गर्ने हो भनेपनि प्राधिकरणले आफ्नो स्वायत्ततालाई भने कायम राख्ने उपायसहितको संसोधन सुझाव दिएको देखिन्छ।
मन्त्रालयले पठाएको मस्यौदामा सरकारले प्राधिकरण बोर्ड सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव तथा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिवको पद थप गरेको छ। उक्त मस्यौदामा कम्तीमा दुई जना महिला सहित समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था राखिएको छ।
तर प्राधिकरण बोर्डले उक्त मस्यौदा प्रावधानलाई नकार्दै हालकै संरचना उपयुक्त रहेको सुझाव दिएको देखिन्छ। जहाँ दफा ६ मा प्राधिकरणको गठनमा अध्यक्षसहित पाँच सदस्यिय बोर्ड हुने सुझाव दिएको छ।
तर प्राधिकरणले अहिलेको भन्दा सथ पारदर्शिताका लागि प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका लागि हुने सिफारिस सिमितिलाई लोकसेवा मातहतमा लैजाने सुझाव दिएको छ।
प्राधिकरणको दूरसञ्चार विधेयक मस्यौदाको दफा ७ मा लोकसेवा आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य सिफारिस समितिको संयोजक हुने व्यवस्था राखिएको छ। र सो समितिमा विज्ञ सदस्य र सञ्चारको सहसचिवलाई सदस्य सचिव राख्ने सुझाव दिएको छ।
यस्तै प्राधिकरणले अध्यक्षको काम कर्तव्य र अधिकारअन्तरगत समेत केहि उपदफाहरु हटाएर मन्त्रालय पठाएको देखिन्छ।
वार्षिक दस्तुर ७ प्रतिशत लिने नियामकको सुझाव
यस बाहेक मन्त्रालयले पठाएको मस्यौदामा नियामक निकाय प्राधिकरण बोर्डले अर्को प्रमुख संसोधन समेत गरेको देखिन्छ। मन्त्रालयले अनुमति पत्र लिएका सेवा प्रदायकहरुलाई वार्षिक रुपमा कुल आम्दानीको ८ प्रतिशतको दरले हुने रकम वार्षिक दस्तुर बापत तिराउने व्यवस्था राखेको छ। त्यसलाई नियामक निकायले १ प्रतिशतले झारेर ७ प्रतिशतको दरले हुने रकम दस्तुरको रुपमा तिराउने व्यवस्था गरेको छ।
यस्तो व्यवस्था तीनै प्रकारका लाइसेन्सीहरुका लागि अनिवार्य गराईएको छ।
अनुमति पत्रको अवधि
अझ रोचक के भने सरकारको लागि विज्ञ संस्थाको रुपमा रहेको प्राधिकरणले पनि अनुमति पत्रको अवधिको व्यवस्था गरिएको दफामा अनुमति पत्रको अवधि कति वर्षसम्मका लागि लागि हुनेछ भन्नेनै तोकेको देखिएन्। जसले मन्त्रालयले पठाएकै मस्यौदालाई हुबहु पारित गरिदिएको छ। जसमा “उक्त ऐन बमोजिम प्राप्त अनुमति पत्रको अवधि १० वर्षको हुने र नवीकरण प्रत्येक १० वर्षमा गरिनुपर्ने” तोकिएको छ।
त्यस्तै एकातर्फ अनुमति पत्रको अवधि ३० वर्ष तोकेर ५० प्रतिशत विदेशी लगानीलाई ५१ प्रतिशत स्वदेशी बनाउने सुविधा प्राधिकरणले सुझाव दिएको छ। अर्कोतर्फ मस्यौदाको दफा ३० को उपदफा ३ मा भने यसअघिका अनुमति पत्र प्राप्त गरेका सेवा प्रदायकहरुलाई पुनः अनुमति पत्र जारी गर्दा एक पटकको लागि वर्तमान दूरसञ्चार ऐननै आकर्षित हुने व्यवस्था लेखिएको छ।
नियामकले मन्त्रालयको दूरसञ्चार विधेयकमा गरेको अर्को प्रमुख संसोधन भनेको विदेशी मुद्राको सिफारिस हो। हालको व्यवस्थाअनुसार प्राधिकरणको पत्रको आधारमा नेपाल सरकारको सिफारिसमा नेपाल राष्ट्र बैंकले दिँदै आएको छ। यसलाई भने नियामकले सरल र सहज बनाउने प्रयासअनुसार प्राधिकरणको सिफारिसमा सिधै केन्द्रीय बैंकले उपलब्ध गराउने व्यवस्था लेखेको छ।
प्राधिकरणले पठाएको संसोधिन मस्यौदा सुझावअनुसार, हाल सरकारले वार्षिकरुपमा प्राधिकरणबाट लग्दै आएको अरबौं रकम लाने व्यवस्थालाई हटाएको देखिन्छ। उक्त व्यवस्थालाई मन्त्रालयले मस्यौदा विधेयकमा समावेश गरेर राखेको थियो जुन उपदफानै प्राधिकरणले हटाईदिएको छ। यस्तै मन्त्रालले अनिवार्यरुपमा जेठ मसान्तसम्म बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था राखेकोमा प्राधिकरणले स्वायत्ततालाई कायम राख्नेगरी त्यो विषयलाईनै हटाएको देखिन्छ।
दूरसञ्चार प्राधिकरणले यस बाहेक विपद् व्यवस्थापनको अवस्थालाई ध्यानमा राखेर विपद्कालीन सञ्चार सेवा सम्बन्धी व्यवस्था मस्यौदामा राखेको छ। जसअनुसार पूर्वसूचना उद्दार र राहतलाई तिब्रता दिन आपत्कालीन सूचना पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। यसको लागि सेल ब्रोडकास्ट सिस्टम एसएमएस वा उपयुक्त प्रविधि अपनाउन सकिने उल्लेख छ।
कस्ले खेल्दैछ खेल?
नयाँ मस्यौदा विधेयकमा ५० प्रतिशत भन्दा धेरै विदेशी लगानी भएको टेलिकम कम्पनीले कम्तिमा ५१ प्रतिशत स्वदेशी बनाएमा सरकारको अधिनमा आउने प्रावधानबाट उम्किने उपाय कस्ले राख्यो भन्नेमा शंका उब्जिएको छ।
टेक्नोलोजीखबरसँग रहेको यसअघि तयार अर्थात पुरानो मस्यौदा विधेयकहरुमा समेत यो व्यवस्था छैन्।
यसअघि नियामकले २०७९ सालमा दूरसञ्चार विधेयकको मस्यौदा तयार पारेर सरोकारबालाहरुसँग छलफल पछि मन्त्रालयमा पठाएको थियो। सो मस्यौदाको दफा ४२ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने प्रावधान राखिएको छ। उक्त दफाको उपदफा (१) मा लेखिएको छ, “यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिको अनुमतिपत्र खारेज वा स्वतरद्घ भएमा त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले सञ्चालन गरेको दूरसञ्चार सेवासँग सम्बन्धित दूरसञ्चार प्रणालीसँग जोडिएका जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनाको स्वामित्व सहित त्यस्तो दूरसञ्चार सेवा चालू हालतमा नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ।”
र यस्तो हस्तातरण गर्दा मूल्य निर्धारण गर्ने प्रयोजनको लागि मन्त्रालयले प्राधिकरणको परामर्श लिई सम्वन्धित क्षेत्रका विज्ञ सहित बढीमा पाँचजना व्यक्तिहरूको एक समिति गठन गरी सो समितिको सिफारिसमा त्यस्तो सम्पत्तिको मूल्य निर्धारण गर्ने प्रावधान तोकिएको थियो।
अझ त्यसअघि २०७५ सालमा तयार पारिएको दूरसञ्चार ऐनको पुरानो मस्यौदामा समेत यस्तो नयाँ प्रावधान समावेश रहेको देखिँदैन्।
२०७९ पछिको अवधिमा नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एमालेसहितका पार्टीहरुबिच विभिन्न किसिमका गठबन्धन सरकारहरु बने तर तिनिहरुले समेत दूरसञ्चार विधेयको काम टुँगोमा पुर्याउन सकेनन् भने विधेयक सञ्चार मन्त्रालयमा नै थन्किएर बसेको देखिन्छ।
तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार हुँदा भने पुराना विधेयकका कतिपय प्रावधानहरुलाई कायमै गरेर अमुक कम्पनी वा व्यक्तिका लागि मात्र लाभ हुने नयाँ व्यवस्था दूरसञ्चार विधेयकको नयाँ मस्यौदामा राखिएको आशंका गर्न सकिन्छ। यसको अर्थ सञ्चार मन्त्रालयबाट दूरसञ्चार विधेयकको नयाँ मस्यौदा बनाउने जिम्मा पाएका विज्ञहरु/कर्मचारीहरुले मिलेमतो गरेका छन वा उच्च राजनीतिक तहमानै यसलाई राख्ने सहमतिका साथ भित्रभित्रै ल्याईएको त हैन भन्ने प्रश्न उब्जिएको छ।
यसले एकातिर एनसेललाई अहिलेको अवस्थामा स्वामित्व हस्तान्तरण गर्नबाट रोकेर विलखबन्दमा पार्ने र अर्कोतर्फ नयाँ बाटोबाट बचाउने कानुन ल्याउने तयारी हेर्दा सरकार आफैं नीतिगत अस्पष्टतामा रहेको देखिन्छ।