स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक

  • Technology Khabar | २० असार २०८३, शनिबार
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक

काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र त्यस अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूका लागि मन्त्रालयले नयाँ आचारसंहिता जारी गरेको छ।

मन्त्रालय र मातहतका सम्पूर्ण निकायहरूको कार्यसम्पादन तथा सेवा प्रवाहलाई निष्पक्ष, पारदर्शी, सेवामूलक, अनुशासित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ आचारसंहिता जारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आचारसंहितामा उल्लेख भएअनुसार कार्यालय समयमा कर्मचारीहरुले मोबाइल र कम्प्युटरमार्फत व्यक्तिगत प्रयोगका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाईने छैन्।

कर्मचारीहरूले कार्यस्थल बाहिर सेवाग्राही वा व्यवसायीहरूसँग व्यक्तिगत लाभ वा स्वार्थका लागि भेटघाट गर्न नहुने कडा नियम बनाइएको छ।

मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि विशेष आचारसंहिता तय गरेको छ। जसअनुसार बिरामी र सेवाग्राहीप्रति शिष्ट र सेवामुखी व्यवहार गर्नुपर्ने उल्लेख छ। आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सेवा दिँदै बिरामीको स्वास्थ्य सम्बन्धी विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ।

यसैगरी, आधुनिक प्रविधिको सन्दर्भमा डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जालको मर्यादित प्रयोग सम्बन्धी नियमहरू पनि समावेश गरिएका छन्। कर्मचारीले पदीय हैसियतले प्राप्त गरेका गोप्य सूचनाहरू सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट सम्प्रेषण गर्न पाउने छैनन् भने कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल चलाउन रोक लगाइएको छ।

आचारसंहिताको पालना भए–नभएको अनुगमन मन्त्री, सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखहरूबाट तहगत रूपमा गरिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २० असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार