काठमाडौं ।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले कृत्रिम बुद्धिमत्ता (एआई) ले सञ्चालन गर्ने कम्पनीलाई कानुनी मान्यता दिने प्रस्ताव अघि सारे पनि त्यस्ता कम्पनी पूर्णरूपमा मानिसबिनै सञ्चालन हुन नसक्ने कानुनी विज्ञहरूले बताएका छन्।
मिलेईले गत महिना प्रकाशित एक लेखमार्फत एआई एजेन्ट वा रोबोटले अप्रत्याशित परिस्थितिमा स्वतन्त्र निर्णय गर्न सक्ने “गैर-मानव कम्पनी” स्थापना गर्न कानुनी व्यवस्था गर्ने प्रस्ताव सार्वजनिक गरेका थिए। कानुनी विज्ञहरूका अनुसार यो प्रस्ताव पारित भए अर्जेन्टिना एआईद्वारा सञ्चालित कम्पनीलाई छुट्टै कानुनी मान्यता दिने पहिलो देश बन्नेछ।
“हामी व्यवसायका लागि खुला छौं,” मिलेईले बताएका थिए। तर इतिहासकार युवाल नोआ हरारीले एआईलाई अत्यधिक अधिकार दिँदा कम्पनीको जवाफदेहिता कमजोर हुन सक्ने चेतावनी दिएका छन्।
यद्यपि कानुनी विज्ञहरूका अनुसार प्रस्ताव त्यति क्रान्तिकारी भने छैन। कम्पनीसम्बन्धी कानुनलाई आधुनिक बनाउने र प्रशासनिक झन्झट घटाउने उद्देश्यसहित ल्याइएको विधेयकमा प्रस्ताव गरिएको “स्वचालित कम्पनी” मा पनि सञ्चालनको निगरानी गर्न एक मानव प्रशासक अनिवार्य रहने व्यवस्था गरिएको छ।
रोयटर्सका अनुसार विधेयकले कम्पनीका प्रशासकलाई निर्णय प्रक्रियामा एआई प्रयोग गर्न अनुमति दिए पनि त्यसबाट हुने निर्णयको जिम्मेवारीबाट उनीहरूलाई मुक्त नगर्ने उल्लेख गरिएको छ।
अमेरिकाको डेलावेयर विश्वविद्यालयस्थित वेइनबर्ग सेन्टर फर कर्पोरेट गभर्नेन्सका निर्देशक लरेन्स कनिङ्घमले मानिसको भूमिकालाई पूर्ण रूपमा हटाउनु अहिलेका लागि धेरै ठूलो कदम हुने बताए। उनले प्रस्तावलाई भने साहसिक कदमको संज्ञा दिएका छन्।
“यसले संसार परिवर्तन गर्नेभन्दा पनि मानव स्रोत विभागबिनै कम्पनी सञ्चालन गर्न सकिने सम्भावनालाई स्वीकार गरेको हो। यो सुरुआत मात्र हो,” उनले भने।
विधेयकका सह-लेखक तथा कानुनका प्राध्यापक डिएगो डुप्राटले एआईको सहयोगमा सञ्चालन हुने क्यासियरविहीन सुपरमार्केटजस्ता उदाहरण दिँदै स्वचालित कम्पनीको अवधारणा केही रूपमा पहिले नै अस्तित्वमा रहेको बताए।
विधेयकअनुसार एआई वा एल्गोरिद्मिक प्रणालीका कारण हुने क्षतिको कानुनी जिम्मेवारी भने कम्पनीकै हुनेछ।
राष्ट्रपतिको कार्यालयका एक प्रतिनिधिले हालसम्म यस विधेयकसँग सम्बन्धित कुनै कम्पनी वा लगानी प्रतिबद्धता नभएको बताए। उनका अनुसार प्रस्तावको उद्देश्य अर्जेन्टिनालाई स्वचालित कम्पनी स्थापना गर्न आकर्षक गन्तव्य बनाउनु हो।
मुद्रास्फीति घटाउन सफल भएका मिलेईले विदेशी लगानी आकर्षित गर्न विभिन्न प्रोत्साहन घोषणा गर्दै आएका छन्। उनले चिसो मौसम र पर्याप्त ऊर्जा उपलब्धताका कारण अर्जेन्टिनाको पाटागोनिया क्षेत्र डाटा सेन्टरका लागि उपयुक्त रहेको बताउँदै देशलाई भविष्यको एआई केन्द्रका रूपमा प्रस्तुत गर्दै आएका छन्। गत अक्टोबरमा ओपनएआई र सुर इनर्जीले २५ अर्ब डलरसम्मको लगानीमा डाटा सेन्टर निर्माण गर्ने योजना घोषणा गरेका थिए।
ब्युनस आयर्स प्रान्तकी कर्पोरेट कानुन व्यवसायी मारिया जिसेल क्यानोले एआईको मुख्य प्रयोग गर्ने कम्पनीका लागि छुट्टै कानुनी व्यवस्था हुनु मात्र पनि लगानीकर्तालाई आकर्षित गर्न पर्याप्त हुन सक्ने बताइन्। उनका अनुसार प्रस्तावबारे अर्जेन्टिना तथा विदेशका उद्यमीबाट एक दर्जनभन्दा बढी जिज्ञासा प्राप्त भइसकेका छन्।
अमेरिकाको अलाबामा विश्वविद्यालयका कानुन प्राध्यापक योनाथन आर्बेलले एआई व्यवसायका लागि अनुकूल वातावरण बनाउन सके अर्जेन्टिनाले ठूलो प्रतिस्पर्धात्मक लाभ लिन सक्ने बताए। उनले एआई एजेन्टका लागि डिजिटल परिचय प्रणालीको व्यवस्था थप स्पष्ट बनाउन सुझाव दिएका छन्।
प्रस्तावमा ब्लकचेनमा आधारित विकेन्द्रीकृत स्वायत्त संस्था (डीएओ) स्थापना गर्ने व्यवस्था पनि समावेश गरिएको छ, जसमा सदस्यहरूले डिजिटल टोकनमार्फत निर्णयमा मतदान गर्न सक्नेछन्।
क्रिप्टोकरेन्सी बजारका हिसाबले अर्जेन्टिना ल्याटिन अमेरिकाका प्रमुख देशमध्ये एक हो। बिटक्वाइन अर्जेन्टिनाका पूर्वअध्यक्ष रिकार्डो मिहुरा एस्ट्राडाले टोकन प्रयोगकर्ताको पहिचान दर्ता अनिवार्य गर्ने व्यवस्था गोपनीयतामा आधारित ब्लकचेन उद्योगका लागि चुनौती बन्न सक्ने बताए।
राष्ट्रपतिको कार्यालयले भने टोकन प्रयोगकर्ताको पहिचान सुरक्षा दृष्टिले न्यूनतम आवश्यकता भएको जनाएको छ। पूर्ण रूपमा गोप्य संरचनामा सञ्चालन हुन चाहने डीएओले यो व्यवस्थाबाहिर रहेर काम गर्न सक्ने भए पनि विधेयकले दिने कानुनी सुविधा भने नपाउने कार्यालयको भनाइ छ।
मिलेईको प्रस्ताव ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सन् २०२४ मा व्यक्त गरेको अवधारणासँग मिल्दोजुल्दो छ। अल्टम्यानले एआईको सहयोगमा एक जना कर्मचारी मात्र भएको कम्पनी पनि एक अर्ब डलर मूल्यको बन्न सक्ने बताएका थिए।
अमेरिकाका टेक्सास र युटाहलगायत केही राज्यले एआई प्रयोग गर्ने व्यवसायका लागि कानुनी ढाँचा तयार गरिसकेका छन्। विशेषज्ञहरूका अनुसार हालको एआई प्रविधि पूर्ण रूपमा स्वतन्त्र रूपमा व्यावसायिक निर्णय गर्न सक्षम भने भइसकेको छैन।
एआई स्टार्टअपमा लगानी गर्ने बेसिस सेट भेन्चर्सकी साझेदार लान शुएझाओका अनुसार सिलिकन भ्यालीका धेरै कम्पनीले कर्मचारी भर्तीभन्दा एआई कम्प्युटिङ क्षमतामा खर्च बढाइरहेका छन्। उनका अनुसार एआई कम्पनीका लागि कम्प्युटिङ क्षमता, चिप र ऊर्जामा पहुँच मुख्य चुनौती हो भने अमेरिकामा र युरोपमा कडा नियमन बढ्दै जाँदा हल्का नियामकीय व्यवस्था भएका देश आकर्षक बन्न सक्छन्।
तर उनले अर्जेन्टिना एआईको प्रमुख केन्द्र बन्न कानुन मात्र पर्याप्त नहुने बताइन्।
“सबैभन्दा महत्वपूर्ण कुरा प्रतिभाशाली जनशक्ति अर्जेन्टिना जान्छ कि जाँदैन भन्ने हो। मानिस पुगेपछि अरू पनि पछ्याउनेछन्,” उनले भनिन्।
प्रकाशित: २० असार २०८३, शनिबार