सफ्टबैंकका प्रमुखले एसके हाइनिक्सलाई १ ट्रिलियन डलरमा अधिग्रहण गर्ने सम्भावना खोजेको रिपोर्ट
काठमाडौं ।
सफ्टबैंक समूहका प्रमुख कार्यकारी अधिकृत मासायोशी सनले दक्षिण कोरियाली मेमोरी चिप निर्माता कम्पनी एसके हाइनिक्सलाई करिब १ ट्रिलियन अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्भावनाबारे वालस्ट्रिटका वित्तीय संस्थाहरूसँग छलफल गरेको द इन्फर्मेसनले शुक्रबार जनाएको छ।
यस विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार, सनले सम्भावित अधिग्रहणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने विषयमा वालस्ट्रिटका संस्थाहरूसँग सम्पर्क गरेका थिए।
तर द इन्फर्मेसनले सफ्टबैंकका एक प्रवक्तालाई उद्धृत गर्दै सनले अब यस्तो सम्झौताबारे विचार गर्न छाडेको जनाएको छ। प्रवक्ताले भनेका छन्, “सफ्टबैंकले विभिन्न अवसरको खोजी गरिरहेको हुन्छ। तर, यो विषय अब सक्रिय विचाराधीन अवस्थामा छैन।”
एसके हाइनिक्सले एक विज्ञप्ति जारी गर्दै द इन्फर्मेसनको रिपोर्टमा उल्लेख गरिएको विषयबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ। कम्पनीले दक्षिण कोरियाली कानुनअनुसार विदेशी कम्पनीले एसके हाइनिक्स अधिग्रहण गर्न चाहेमा त्यसअघि सरकारको स्वीकृति लिनुपर्ने पनि स्पष्ट पारेको छ।
यस विषयमा प्रतिक्रिया माग्दा सफ्टबैंकका प्रवक्ताले रोयटर्सलाई द इन्फर्मेसनलाई दिएको कम्पनीको भनाइ नै आधिकारिक धारणा भएको बताएका छन्।