
काठमाडौं ।
पोल्याण्डले युरोपेली आयोग (ब्रसेल्स) लाई टिकटकमाथि छानबिन गर्न आग्रह गरेको छ। सामाजिक सञ्जाल टिकटकमा पोल्याण्डलाई युरोपेली संघ (ईयू) बाट बाहिरिन आह्वान गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको सामग्री प्रसारित भएको भन्दै पोल्याण्डले यसलाई लगभग निश्चित रूपमा रुसी दुष्प्रचार भएको बताएको छ।
पोलिश राष्ट्रिय रङका पहिरनमा सजिएका युवतीहरू देखिने र पोल्याण्डलाई ईयू छोड्न आह्वान गर्ने भिडियोहरू समेटिएको एक टिकटक प्रोफाइल पछिल्ला हप्ताहरूमा निकै चर्चित भएको थियो। हाल उक्त प्रोफाइल प्लेटफर्मबाट हटिसकेको छ।
“उक्त सामग्रीले पोल्याण्ड मात्र होइन, सम्पूर्ण युरोपेली संघमा सार्वजनिक व्यवस्था, सूचना सुरक्षा तथा लोकतान्त्रिक प्रक्रियाको अखण्डतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ,” पोल्याण्डका उप–डिजिटलीकरण मन्त्री डारियुज स्टान्देर्स्कीले युरोपेली आयोगलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।
उनका अनुसार प्रस्तुत गरिएका कथ्य, ती सामग्री फैलाइएको तरिका तथा कृत्रिम अडियो–भिजुअल सामग्रीको प्रयोगले टिकटक ‘अत्यन्त ठूलो अनलाइन प्लेटफर्म’ (भीएलओपी) का रूपमा आफ्नो दायित्व पूरा गर्न असफल भएको संकेत गर्छ।
पोलिश सरकारका एक प्रवक्ताले मंगलबार ती सामग्री निसन्देह रुसी दुष्प्रचार भएको दावी गरे। उनका अनुसार भिडियोहरूमा रुसी भाषिक संरचना देखिन्थ्यो।
यस विषयमा प्रतिक्रिया दिँदै टिकटकका एक प्रवक्ताले इमेलमार्फत रोयटर्सलाई भने, “हामी पोल्याण्डका अधिकारीहरूसँग सम्पर्कमा छौँ र हाम्रो नियम उल्लङ्घन गर्ने सामग्री हटाइसकेका छौँ।”
रोयटर्सका अनुसार युरोपेली आयोगका एक प्रवक्ताले पत्र प्राप्त भएको पुष्टि गर्दै डिजिटल सर्भिसेज एक्ट (डीएसए) अन्तर्गत अत्यन्त ठूलो अनलाइन प्लेटफर्महरूले एआईसँग सम्बन्धित जोखिमसहित आफ्ना सेवाबाट उत्पन्न हुने सबै जोखिमहरूको मूल्याङ्कन गर्नुपर्ने दायित्व रहेको बताए।
“मार्च २०२४ मा आयोगले टिकटकसहित थुप्रै अनलाइन प्लेटफर्महरूलाई एआईसम्बन्धी जोखिम न्यूनीकरणका लागि अपनाइएका उपायबारे जानकारी मागिसकेको छ,” प्रवक्ताले इमेलमार्फत बताएका छन्।
वारसास्थित रुसी दूतावासका प्रतिनिधिहरूले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
युरोपेली संघका देशहरूले विदेशी राष्ट्रबाट हुन सक्ने निर्वाचन तथा स्थानीय राजनीतिमा हस्तक्षेप रोक्न कदम चालिरहेका छन्। यसअघि रुसी प्रायोजित जासुसी र तोडफोड गतिविधिबारे चेतावनी दिइएको थियो।
रुसले भने बारम्बार विदेशी निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ। गत वर्ष, युरोपेली आयोगले नोभेम्बर २०२४ मा सम्पन्न रोमानियाको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप रोक्न असफल भएको आशंकामा चीनको बाइटडान्स स्वामित्वमा रहेको टिकटकविरुद्ध औपचारिक अनुसन्धान प्रक्रिया सुरु गरेको थियो।
पोल्याण्डले टिकटकले युरोपेली संघको डिजिटल सर्भिसेज एक्ट उल्लङ्घन गरेको आशंकामा आयोगलाई औपचारिक कारबाही प्रक्रिया सुरु गर्न आग्रह गरेको छ। उक्त कानुनले युरोपमा सञ्चालन हुने विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरूको गतिविधि नियमन गर्छ।
यस ऐनअनुसार एक्स, फेसबुक, टिकटकजस्ता ठूला अनलाइन प्लेटफर्महरूले घृणात्मक भाषण, जातिवाद वा विदेशीविरोधी सामग्रीजस्ता हानिकारक सामग्री नियन्त्रण र हटाउनुपर्छ। यसमा असफल भए आयोगले ती कम्पनीहरूलाई विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।
प्रकाशित: १७ पुष २०८२, बिहीबार