अन्तरिक्ष फोहरले गत वर्ष कक्षमा इमर्जेन्सी नै निम्त्यायो, अबका दिनमा केही परिवर्तन होला? यस्तो छ तथ्य

  • Technology Khabar | १७ पुष २०८२, बिहीबार
अन्तरिक्ष फोहरले गत वर्ष कक्षमा इमर्जेन्सी नै निम्त्यायो, अबका दिनमा केही परिवर्तन होला? यस्तो छ तथ्य
तस्बिर: स्पेस डट कम

काठमाडौं ।

पृथ्वी मानव–निर्मित अन्तरिक्ष फोहोरले घेरिएको छ जसले हाम्रो ग्रहको वरिपरि उच्च गतिमा परिक्रमा गरिरहेको छ। यो समस्या हरेक वर्ष झन् गम्भीर बन्दै गएको छ, र २०२५ पनि यसबाट अछुतो रहेन।

अन्तरिक्ष फोहोरका विज्ञहरूका अनुसार करिब १३ करोड टुक्रा जति कक्षीय फोहोर पृथ्वीको वरिपरि घुमिरहेका छन्। यसमा रकेट चरण विस्फोटबाट बाँकी रहेका अवशेष, प्रयोगविहीन उपग्रहहरू, तथा अन्तरिक्ष हार्डवेयर तैनाथीका क्रममा छुटेका साना–ठूला टुक्रा समावेश छन्। यीमध्ये केही फोहोर उपग्रहविरोधी हतियार परीक्षणमार्फत जानाजानी अन्तरिक्षयान ध्वस्त पारिँदा उत्पन्न भएका हुन्।

यति धेरै अन्तरिक्ष फोहोरको अर्थ हो—आपसी ठोक्किनको जोखिम बढ्नु, जसले अझ धेरै फोहोर उत्पादन गर्छ। यस अवस्थालाई केसलर सिन्ड्रोम भनिन्छ।

सन् १९७८ मा नासाका वैज्ञानिक डोनाल्ड केसलर र बर्टन कौर–पाले ‘कोलिजन फ्रिक्वेन्सी अफ आर्टिफिसियल स्याटेलाइट्स: द क्रियशन अफ ए डेब्री देल्ट’ शीर्षकको चर्चित शोधपत्रमार्फत यो चेतावनी दिएका थिए।

त्यसको ४७ वर्षपछि समस्या झन् गहिरिएको छ, र २०२५ मा भएका थुप्रै फोहोर–आघात घटनाले देखाउँछ कि कक्षीय फोहोरको संचित दर रोक्ने वा कम गर्ने प्रभावकारी उपाय अझै भेटिएको छैन।

अन्तरिक्ष फोहोरका कारण आपतकालीन प्रक्षेपण

चीनको अन्तरिक्ष स्टेशनबाट फर्कन तयारी गरिरहेका शेन्झोउ–२० का अन्तरिक्ष यात्रीहरूले नोभेम्बर ५ मा आफ्नो यानको झ्यालमा साना चिरा परेको फेला पारे।

स्पेस डटकमका अनुसार अनुसन्धानपछि त्यो क्षति अन्तरिक्ष फोहोरको बाह्य आघातका कारण भएको ठहर गरियो, जसले गर्दा उक्त यान सुरक्षित मानव अवतरणका लागि अनुपयुक्त बन्यो। यस घटनाले चीनको मानव अन्तरिक्ष उडान इतिहासमै पहिलो पटक आपतकालीन प्रक्षेपण गरायो। मानवरहित तर कार्गो बोकेको शेन्झोउ–२२ यान नोभेम्बर २५ मा प्रक्षेपण गरियो।

अन्ततः शेन्झोउ–२१ यानमार्फत अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वी फर्किए। चीनको अन्तरिक्ष स्टेशन कार्यक्रममा वैकल्पिक फिर्ती प्रक्रिया पहिलो पटक प्रयोग गरिएको यो घटना सफलतापूर्वक सम्पन्न भयो। तर, शेन्झोउ–२० को अवतरण ढिलाइ केवल प्राविधिक विवरण मात्र नभएको टेक्सास विश्वविद्यालय (अस्टिन) का प्राध्यापक तथा अन्तरिक्ष फोहोर विज्ञ मोरिबा जाह ले बताए।

“सूक्ष्म अन्तरिक्ष फोहोरले एउटा यानको झ्याल क्षति पुर्‍यायो र त्यसकै कारण चालकदलको फिर्ती स्थगित गर्नुपर्‍यो,” जाहले भने। “वैकल्पिक यान प्रयोग गर्ने निर्णय अधुरो जानकारीमै आधारित जिम्मेवार जोखिम व्यवस्थापन हो।

तर यसले अझ गहिरो समस्यालाई पनि उजागर गर्छ—हामीसँग कक्षामा के–के चलिरहेको छ भन्नेबारे निरन्तर र प्रमाणित बुझाइ कायम राख्न सक्ने सामूहिक क्षमता छैन।” जाहका अनुसार अन्तरिक्षमा छोडिने हरेक टुक्राले “अनिश्चितताको बढ्दो ज्वार” थप्दै जान्छ।

तथ्यगत स्पष्टता र पारदर्शिताको खाँचो

जाहले भनेअनुसार यो अनिश्चितता केवल तथ्याङ्कीय नभई ज्ञानसम्बन्धी पनि हो। “जब अनिश्चितता बढ्ने दर, ज्ञान नवीकरण हुने दरभन्दा छिटो हुन्छ, सुरक्षा सीमा कमजोर बन्छ,” उनले भने। त्यसैले ज्ञान क्षय हुनुअघि नै नयाँ ज्ञान सिर्जना गर्न सक्ने मिशन डिजाइन, शासन संरचना र सूचना प्रणाली आवश्यक रहेको उनको तर्क छ।

शेन्झोउ–२० को झ्यालमा देखिएको चिरा “वैश्विक ट्र्याकिङ, जिम्मेवारी निर्धारण र उत्तरदायित्वमा रहेका खाली ठाउँसँग जोडिएको” उनले बताए। राष्ट्र र कम्पनीहरूले तथ्यको विश्वसनीयता र पारदर्शितालाई सुरक्षा इन्जिनियरिङको अभिन्न अङ्ग नठानेसम्म यस्ता घटना दोहोरिरहने उनको चेतावनी छ। चीनले पूर्ण मूल्याङ्कन नभएसम्म मानवयुक्त यान पुनःप्रवेश नगर्ने निर्णय गर्नु “ज्ञानगत नम्रता” को उदाहरण भएको जाहको भनाइ छ। “यस्तो नम्रता अपवाद होइन, नियम बन्नुपर्छ,” उनले भने।

उनका अनुसार यो घटनाले अन्तर्राष्ट्रिय समुदायलाई साझा कक्षीय अवस्थाबारे जानकारी, आपसमा मिल्ने ज्ञान संरचना, र जोखिम घटाउने मिशनलाई मान्यता दिने प्रमाणीकरण प्रणालीतर्फ उन्मुख गराउनुपर्छ। “इन्जिनियरिङ, नीति र सूचना नैतिकतालाई एउटै दिशामा नल्याएसम्म सामान्य देखिने असामान्यताहरू भविष्यको विपत्तिको संकेत बन्न सक्छन्,” जाहले चेतावनी दिए।

दीर्घकालीन असरको बेवास्ता

लियोल्याब्सका वरिष्ठ प्राविधिक फेलो ड्यारेन म्याकनाइट का अनुसार २०२५ का मुख्य समस्या यस्ता थिएः

• उपग्रह मेगाकन्स्टेलेसनको तीव्र विस्तार—स्टारलिङ्क, इरिडियम र वनवेबजस्ता केही जिम्मेवार भए पनि चीनको “थाउजेन्ड सेल्स” र “गुओवाङ” जस्ता परियोजनाले उच्च उचाइमा धेरै रकेट अवशेष छोडिरहेको र अन्य कन्स्टेलेसनसँग समन्वय नगरेको उनको आरोप छ।

• २५ वर्षभन्दा बढी समय कक्षामा रहिरहने रकेट अवशेषहरू छोडिनु। तथ्याङ्क अनुसार कम पृथ्वी कक्षामा सबैभन्दा जोखिमयुक्त शीर्ष १० वस्तु हटाएमा फोहोर उत्पादन सम्भावना ३० प्रतिशतसम्म घट्न सक्छ। तर विश्व समुदायले दीर्घकालीन नकारात्मक प्रभाव थाहा हुँदाहुँदै पनि रकेट अवशेष छोड्ने गति बढाइरहेको म्याकनाइटको भनाइ छ।

“केही सञ्चालकहरू छोटो लाभका लागि दीर्घकालीन असर बेवास्ता गरिरहेका छन्,” उनले भने, जसलाई उनले प्रारम्भिक जलवायु परिवर्तन अस्वीकारसँग तुलना गरे। “कतिपयले केही ठूलो दुर्घटना नभएसम्म व्यवहार परिवर्तन गर्दैनन्।”

जोखिम र जिम्मेवारी

यसैबीच, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) ले ‘सेफगार्डिङ स्पेस: एन्भाइरोन्मेन्टल इस्युज, रिस्क्स एण्ड रेस्पोन्सिबिलिटिज’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले अन्तरिक्ष फोहोरसम्बन्धी समस्यालाई “उदीयमान चुनौती” को रूपमा व्याख्या गरेको छ। पछिल्लो दशकमा १२ हजारभन्दा बढी अन्तरिक्षयान प्रक्षेपण भइसकेको र अझ धेरै योजना अघि बढिरहेको भन्दै प्रतिवेदनले वायुमण्डलका सबै तहमा वातावरणीय चुनौती उत्पन्न भएको उल्लेख गरेको छ।

यूएनईपीले प्रक्षेपणबाट हुने वायु प्रदूषण, स्ट्राटोस्फियरमा अन्तरिक्षयानबाट निस्कने उत्सर्जन, पुनःप्रवेश गर्ने फोहोरले वायुमण्डलीय रसायन र गतिको संरचना परिवर्तन गर्न सक्ने सम्भावना, जलवायु परिवर्तन र ओजोन तह क्षयजस्ता जोखिम औंल्याएको छ।

प्रतिवेदनको निष्कर्ष स्पष्ट छ: “अन्तरिक्ष गतिविधिले मानव जीवनलाई दिने अत्यावश्यक सेवाहरू र त्यसबाट उत्पन्न जोखिमबीच सन्तुलन मिलाउन बहुपक्षीय र अन्तरविषयगत दृष्टिकोण आवश्यक छ।”

प्रकाशित: १७ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार