चीनमा विद्युतीय गाडीहरु स्मार्टफोनजस्तै चक्रमा: ३ देखि ५ वर्षमा “कार ग्रेभयार्ड” सिर्जना हुँदै

  • Technology Khabar | ३१ बैशाख २०८३, बिहीबार
चीनमा विद्युतीय गाडीहरु स्मार्टफोनजस्तै चक्रमा: ३ देखि ५ वर्षमा “कार ग्रेभयार्ड” सिर्जना हुँदै

काठमाडौं ।

विद्युतीय सवारी ईभीहरू चीनमा लगभग “उपभोग्य वस्तु” जस्तै बन्न थालेका छन्, जहाँ तीव्र मूल्य प्रतिस्पर्धाले बजारलाई प्रभावित गरिरहेको छ।

परामर्श कम्पनी एलिक्सपार्टनर्सका सिङ झोउका अनुसार विद्युतीय कार अहिले स्मार्टफोनजस्तै चक्रमा प्रवेश गरिरहेका छन्।

अटोबिल्डका लागि काम गर्ने एक चिनियाँ विश्लेषकका अनुसार धेरै चिनियाँ मोडल सडकमा आएको केही वर्षमै पुराना र अप्रासंगिक मानिन थालिएका छन्। नयाँ कारको मूल्य निकै कम भएकाले पुराना कार बेच्नु स्थानीय बजारमा लगभग अर्थहीन बनेको छ।

टेलिग्राफका अनुसार युरोपेली उत्पादकहरूले एउटा नयाँ मोडल विकास गर्न सामान्यतया ४ देखि ५ वर्ष लगाउँछन्। तर चीनमा यही काम करिब दुई वर्षमै पूरा हुन्छ। हरेक वर्ष करिब १४० नयाँ मोडल सार्वजनिक हुने भएकाले तीन वर्ष पुराना कारलाई पनि छिट्टै पुरानो मान्न थालिएको छ।

यही तीव्र गतिले ३ देखि ५ वर्षमै बजारबाट बाहिरिने “कार ग्रेभयार्ड” सिर्जना गरेको छ, जसले वातावरण र पुनःप्रशोधन प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ। साथै १४० भन्दा बढी ब्रान्डबीचको प्रतिस्पर्धाले बजार मूल्य पनि निकै घटाएको छ।

सन् २०२३ देखि २०२५ बीच चिनियाँ विद्युतीय कारको मूल्य औसतमा करिब २३ प्रतिशतले घटेको छ। उदाहरणका लागि बीवाईडीको सीगल चीनमा करिब ६,९०० युरोमा बिक्री भइरहेको छ।

धेरै उत्पादकले यी गाडी केही वर्ष मात्र प्रयोग गरेर पछि इलेक्ट्रोनिक उपकरणजस्तै खोल्ने र पुनःप्रशोधन गर्ने अपेक्षा राखेका छन्।

तर पुनःप्रशोधन प्रणाली भने यस गतिसँग तालमेल गर्न असफल भइरहेको छ। परिणामस्वरूप परित्याग गरिएका गाडीले भरिएका ठूला पार्किङ क्षेत्र देखिन थालेका छन्। यिनका ब्याट्रीमा दुर्लभ सामग्री हुने भएकाले मूल्यवान मानिन्छन्, तर तिनको व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ।

यो अवस्थाले केही चिनियाँ विद्युतीय कार ब्रान्ड दिवालिया समेत भएका छन्, जसका कारण कर्मचारीले तलब र रोजगारी गुमाएका छन्।

यसबीच चिनियाँ कम्पनीहरूले बढी नाफा हुने युरोपेली बजारमा प्रवेश गर्न आक्रामक प्रयास गरिरहेका छन्।

प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार