
काठमाडौं ।
फ्रान्समा १६ परिवारले सामाजिक सञ्जाल टिकटकविरुद्ध “कमजोरीको दुरुपयोग” गरेको आशंकामा मुद्दा दायर गरेका छन्।
ती परिवारहरूले पेरिस अभियोजन कार्यालयमा सामूहिक मुद्दा दायर गरेका हुन्। परिवारहरूको प्रतिनिधित्व गरिरहेकी वकिल लाउरे बुट्रोन–मार्मियोनले टिकटकमाथि किशोरहरूको मानसिक कमजोरीको फाइदा उठाएको आरोप लगाएकी छन्। उनका अनुसार केही घटनामा यसले आत्महत्या र गम्भीर मानसिक स्वास्थ्य समस्यासमेत निम्त्याएको टेलिग्राफीले उल्लेख गरेको छ।
“हामीसँग यस्तो प्रणाली छ, जुन किशोरहरूको कमजोरीको फाइदा उठाउनकै लागि डिजाइन र विकास गरिएको हो। टिकटकले किशोरहरूलाई चिन्ता र मानसिक तनावको जेलमा थुनेको छ,” बुट्रोन–मार्मियोनले फ्रान्सइन्फोलाई बताइन्।
उनले टिकटकको प्रभावलाई “डिजिटल संकट” सँग तुलना गरिन्।
अनादोलुको रिपोर्टअनुसार मुद्दा फ्रान्स तथा अन्तर्राष्ट्रिय स्तरका टिकटक अधिकारीहरूलाई लक्षित गर्दै दायर गरिएको हो। परिवारहरूको दाबी छ कि प्लेटफर्मलाई आफ्नो सिफारिस एल्गोरिदमले कसरी काम गर्छ भन्ने पूर्ण जानकारी छ।
“यो अत्यधिक व्यक्तिगत सिफारिस र निरन्तर सामग्री प्रवाहमा आधारित प्रणाली हो, जसले कडा लत सिर्जना गर्छ र किशोरहरूको कमजोरीको फाइदा उठाउँछ,” उनले भनिन्।
“उनीहरूलाई प्लेटफर्मका असरबारे राम्रोसँग थाहा छ, तर उनीहरूले केही पनि गरेका छैनन्,” बुट्रोन–मार्मियोनले थपिन्।
उनका अनुसार परिवारहरूले टिकटकलाई “कमजोरीको दुरुपयोग” सम्बन्धी मुद्दामा फ्रान्सेली फौजदारी अदालतसम्म पुर्याउन चाहेका छन्। यसअघि नै नागरिक मुद्दासम्बन्धी प्रक्रिया पनि जारी छ।
“उनीहरू केवल सामान्य उजुरीमै सीमित रहन चाहँदैनन्,” उनले भनिन्।
मुद्दामा संलग्न केही परिवारले आफ्ना सन्तानलाई आत्महत्याका कारण गुमाएका छन् भने केहीले एनोरेक्सिया, डिप्रेसन र आत्महत्यासम्बन्धी सोचका घटनाहरू रिपोर्ट गरेका छन्।
मुद्दामा सामाजिक सञ्जालमाथि कडा नियमन गर्नुपर्ने माग पनि गरिएको छ। यसमा १५ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउने प्रस्तावसमेत समावेश छ, जुन विषय अहिले फ्रान्समा छलफलमा रहेको बताइएको छ।
यसअघि टिकटकले किशोर प्रयोगकर्ताका लागि ५० भन्दा बढी सुरक्षा सुविधा र उपकरण लागू गरिएको तथा उमेरअनुसार सुरक्षित अनुभव उपलब्ध गराउन निरन्तर लगानी भइरहेको जनाएको थियो।
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार