
काठमाडौं ।
गुगलले हालै आयोजना गरेको आफ्नो भर्चुअल एन्ड्रोइड शो: आई/ओ एडिसन कार्यक्रममा सुधारिएको जेमिनी इन्टेलिजेन्स फिचर, गुगलबुक नामको नयाँ हार्डवेयर, भाइब-कोडेड विजेट, क्रोममा जेमिनी र नयाँ इमोजी लगायतका आगामी अपडेट र फिचरहरू घोषणा गरेको छ।
यी फिचरहरू यसै महिना हुने गुगलको वार्षिक डेभलपर सम्मेलनअघि सार्वजनिक गरिएका हुन्, जसको मुख्य केन्द्रबिन्दु गत वर्षझैं एआई रहनेछ।
ल्यापटप श्रृंखला गुगलबुक
गुगलले जेमिनीलाई केन्द्रमा राखेर बनाइएको नयाँ ल्यापटप श्रृंखला गुगलबुक सार्वजनिक गरेको छ। कम्पनीले एसर, असुस, डेल, एचपी र लेनोभो जस्ता साझेदारसँग मिलेर विभिन्न आकार र डिजाइनका पहिलो गुगलबुक ल्यापटप तयार गरिरहेको छ।
कम्पनीका अनुसार यो शरद ऋतुमा बजारमा आउने गुगलबुक जेमिनी इन्टेलिजेन्सका लागि सुरुदेखि नै डिजाइन गरिएको पहिलो ल्यापटप हो, जसले व्यक्तिगत र सक्रिय सहयोग दिनेछ।
यी ल्यापटपमा जेमिनी समावेश गरिएको ‘म्याजिक पोइन्टर’ नामको नयाँ कर्सर, एन्ड्रोइड फोनसँग कनेक्ट भएर फोनका एपहरू सिधै गुगलबुकबाट चलाउन सकिने सुविधा, आफ्नै विजेट बनाउन सकिने सुविधा लगायत हुनेछन्।
‘क्रिएट माई विजेट’
गुगलले ‘क्रिएट माई विजेट’ नामको नयाँ फिचर पनि सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई आफ्नै कस्टम विजेट भाइब-कोड गर्न दिनेछ। यो फिचर यस गर्मीयाममा नयाँ सामसङ ग्यालेक्सी र गुगल पिक्सेल फोनहरूमा सुरु हुनेछ।
प्रयोगकर्ताले सामान्य भाषामा आफूलाई चाहिएको कुरा वर्णन गरेर विजेट बनाउन सक्नेछन्। उदाहरणका लागि, “हरेक हप्ता तीनवटा उच्च प्रोटिनयुक्त मील प्रेप रेसिपी सुझाऊ” भनेपछि होमस्क्रिनमा थप्न र आकार परिवर्तन गर्न मिल्ने कस्टम ड्यासबोर्ड बन्नेछ।
एन्ड्रोइड अटोमा पनि नयाँ अपडेट
टेकक्रञ्चका अनुसार एन्ड्रोइड अटोमा पनि नयाँ अपडेट आएको छ, जसले थप व्यक्तिगत अनुभव, विजेट र विभिन्न आकारका स्क्रिनमा मिल्ने फुल-स्क्रिन डिजाइन ल्याउनेछ। प्रयोगकर्ताले नेभिगेसन चलाइरहेको बेला पनि आवश्यक जानकारी हेर्न विजेट थप्न सक्नेछन्।
यूट्युब म्युजिक र स्पोटिफाईजस्ता मिडिया एपहरूको इन्टरफेस पनि कारमा प्रयोग गर्न सजिलो हुने गरी पुनः डिजाइन गरिएको छ।
यस वर्षको अन्त्यदेखि पहिलो पटक एन्ड्रोइड अटोमा यूट्युबजस्ता एपमा ६० एफपीएस फुल एचडी भिडियो हेर्न सकिनेछ। यो सुविधा बीएमडब्लू, फोर्ड, जेनेसिस, हुण्डाई, किया, महिन्द्रा, मर्सिडिज-बेञ्ज, रेनो, स्कोडा, टाटा मोटर्स र भोल्भोबाट सुरु हुनेछ।
गुगलले जेमिनी अब व्यापक रूपमा एन्ड्रोइड अटोमा उपलब्ध भइरहेको बताएको छ, जसले चालकलाई हात नचलाइकन प्रश्न सोध्न, विचार बनाउन वा विषयबारे जानकारी लिन मद्दत गर्नेछ। साथै, कारबाटै खाना अर्डर गर्न सकिने सुविधा पनि सुरु हुनेछ, जसको सुरुवात डोरड्याशबाट हुनेछ।
गुगलले सबै ४,००० एन्ड्रोइड इमोजीलाई थप यथार्थपरक बनाइएको जनाएको छ। यस वर्षपछि आउने नयाँ इमोजीहरू कम सपाट र बढी अभिव्यक्तिशील हुनेछन्।
एन्ड्रोइडले ‘स्क्रिन रियाक्सन’ नामको नयाँ फिचर ल्याउँदैछ, जसले प्रयोगकर्ताको भिडियो र स्क्रिनलाई एकैसाथ रेकर्ड गर्नेछ। यस्तो फर्म्याट टिकटक र इन्स्टाग्राम रिल्समा लोकप्रिय छ। यो फिचर यस गर्मीयाममा पिक्सेल डिभाइसमा आउनेछ।
गुगलले मेटासँग साझेदारी गर्दै एन्ड्रोइडमा इन्स्टाग्रामका अल्ट्रा एचडीआर, नेटिभ स्टेबलाइजेसन र नाइट मोड फिचर ल्याउनेछ। फोटो र भिडियो पोस्ट गर्दा गुणस्तर नघटोस् भनेर अपलोड प्रणाली पनि सुधारिएको छ।
कम्पनीले एन्ड्रोइडका लागि मात्र मेटाको एडिट एपमा ‘स्मार्ट इन्हान्स’ र ‘साउन्ड सेपरेशन’ जस्ता नयाँ टुल पनि ल्याएको छ।
जेमिनी इन्टेलिजेन्स अन्तर्गत सहायकले एउटा एपबाट डाटा लिएर अर्को एपमा धेरै चरणको काम गर्न सक्नेछ। उदाहरणका लागि, कुनै कार्यक्रमको पोस्टरको फोटो लिएर त्यस कार्यक्रमलाई एक्सपेडियाजस्ता साइटमा खोज्न सकिनेछ।
यसैगरी, किराना सूची स्क्रिनमा राखेर आफूले चाहेको किनमेल एपमा सामानको कार्ट बनाउन पनि जेमिनीलाई भन्न सकिनेछ।
कम्पनीले गुगल क्रोममा जेमिनीलाई अब एन्ड्रोइडमा पनि ल्याएको छ। यसले वेबपेजको सामग्री सारांश बनाउन वा त्यही पेजबारे प्रश्न सोध्न मद्दत गर्नेछ। प्रयोगकर्ताले वेबसाइटमा गएर टिकट बुक गर्नेजस्ता काम पनि यसले स्वतः गर्न सक्नेछ।
जेमिनीले ‘पर्सनल इन्टेलिजेन्स’ को डाटा प्रयोग गरेर मोबाइलमा जटिल फारम भर्न मद्दत गर्ने अप्ट-इन सुविधा पनि पाउनेछ।
गुगलले जीबोर्डमा ‘र्याम्बलर’ नामको नयाँ फिचर ल्याएको छ, जसले बोलेको कुरा सफा गरेर पाठमा बदल्नेछ। यसले “उम्” वा “आह” जस्ता अनावश्यक शब्द हटाउनेछ।
गत वर्ष गुगलले गुगल पिक्सेलबाट आईफोनमा फोटो र फाइल पठाउन ‘क्विक सेयर’ लाई एयरड्रपसँग काम गर्ने बनाएको थियो। यस वर्ष यो सुविधा सामसङ, ओपो, वनप्लस, भिभो, शाओमी र अनरमा पनि उपलब्ध हुनेछ।
यदि मिल्ने डिभाइस नभए पनि, क्विक सेयरबाट क्यूआर कोड बनाएर क्लाउडमार्फत आईफोनमा फाइल पठाउन सकिनेछ।
छिट्टै व्हाट्सएपजस्ता एपभित्रैबाट पनि क्विक सेयर चलाउन सकिनेछ।
गुगलले नयाँ आईओएस-टु-एन्ड्रोइड ट्रान्सफर सुविधा ल्याउने योजना बनाएको छ, जसले आईफोनबाट पासवर्ड, फोटो, सन्देश, मनपर्ने एप, सम्पर्क, ई-सिम र होमस्क्रिन लेआउट नयाँ एन्ड्रोइड फोनमा सार्न दिनेछ। यो सुविधा यस वर्ष सामसङ ग्यालेक्सी र गुगल पिक्सेलमा सुरु हुनेछ।
‘पज पोइन्ट’
‘पज पोइन्ट’ नामको नयाँ फिचरले ध्यान भंग गर्ने एप खोल्दा १० सेकेन्ड रोक्नेछ। त्यसपछि मात्र प्रयोगकर्ताले स्क्रोल वा गेम खेल्न सक्नेछन्। यसबीचमा गुगल प्ले बूक्स जस्ता विकल्प देखाइनेछ।
गुगलले चोरीबाट जोगाउने सुरक्षा सुविधा विश्वभरका सबै एन्ड्रोइड प्रयोगकर्तामा विस्तार गरिरहेको छ। यी सुविधा नयाँ एन्ड्रोइड १७ डिभाइस, रिसेट गरिएका डिभाइस वा नयाँ ओएसमा अपडेट भएका डिभाइसमा स्वतः सक्रिय हुनेछन्।
यसमा रिमोट लक, थेफ्ट डिटेक्सन लक, पिन वा पासवर्ड अनुमान गर्ने प्रयासको सीमा घटाउने र धेरै पटक असफल भएपछि लामो प्रतीक्षा समय राख्ने सुविधा समावेश छन्। साथै, एन्ड्रोइड १२ वा माथिका डिभाइसमा लक स्क्रिनबाटै आईएमईआई हेर्न सकिनेछ, जसले चोरी भएका फोनको स्वामित्व प्रमाणित गर्न मद्दत गर्नेछ।
यी सुरक्षा सुविधा अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको र बेलायत लगायतका देशमा एन्ड्रोइड १० वा माथिका डिभाइसमा पनि विस्तार गरिनेछ।
अपडेट गरिएको सफ्टवेयर र एडभान्स्ड प्रोटेक्सन मोड सक्रिय भएका गुगल पिक्सेल प्रयोगकर्ताले अब ‘इन्ट्रुजन लगिङ’ नामको नयाँ सुरक्षा फिचर पाउनेछन्, जसले स्पाइवेयर आक्रमण वा डिभाइसमा भएको हस्तक्षेपको अनुसन्धान गर्न मद्दत गर्नेछ।
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार