एआर ग्लास र शल्यक्रियामार्फत शरीरमा प्रत्यारोपण गरिएको चिपका माध्यमले दृष्टिविहीनहरु फेरि हेरेर पढ्न सक्षम

  • Technology Khabar | ७ कार्तिक २०८२, शुक्रबार
एआर ग्लास र शल्यक्रियामार्फत शरीरमा प्रत्यारोपण गरिएको चिपका माध्यमले दृष्टिविहीनहरु फेरि हेरेर पढ्न सक्षम

काठमाडौं ।

शल्यक्रियामार्फत शरीरमा प्रत्यारोपण गरिएको चिप र अग्मेन्टेड–रियालिटी चश्माको सहायताले दृष्टि गुमाएका केही मानिसहरू फेरि पढ्न सक्षम भएका छन्।

सोमबार (अक्टोबर २०) द न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार, उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) का कारण दृष्टि गुमाएका करिब ८० प्रतिशत मानिसहरू उपचार प्राप्त गरेपछि एक वर्षभित्र अक्षर र शब्द पढ्न सक्षम भएका थिए।

“कृत्रिम दृष्टिको इतिहासमा यो नयाँ युगको सुरुवात हो,” अध्ययनका सह–लेखक र युनिभर्सिटी कलेज लन्डन तथा यूकेको मुरफिल्ड्स आई अस्पतालका नेत्र चिकित्सक माही मुकितले भने। “पहिलोपटक अन्धा बिरामीहरू अर्थपूर्ण रूपमा केन्द्रिय दृष्टि पुनःप्राप्त गर्न सक्षम भएका छन्।”

लाइभसाइन्सका अनुसार एएमडी ६५ वर्षभन्दा माथिका वयस्कहरूमा दृष्टि गुमाउने सबैभन्दा सामान्य कारण हो। यो रोगले रेटिनाको केन्द्र भाग म्याकुलालाई असर गर्छ र आँखाको बीच भागमा दृष्टि गुमाउँछ। यसको उन्नत चरणमा जियोग्राफिक एट्रोफी भनिने प्रक्रियाले रेटिनाका कोषहरूलाई नष्ट गर्छ, जसले प्रभावित आँखामा पूर्ण अन्धोपन ल्याउन सक्छ। हाल विश्वभर करिब ५० लाख मानिस यस अवस्थाबाट प्रभावित छन्।

अध्ययनमा सहभागी रहेकी शिला इरभिनले भनिन्, “इम्प्लान्ट लगाउनुअघि मेरो आँखामा दुईवटा कालो घेरा जस्तै देखिन्थ्यो, वरिपरिको दृश्य विकृत थियो।”

छोटो क्लिनिकल परीक्षणमा युरोपका ३८ एएमडी बिरामीहरूमा रेटिनाको मरेका कोषहरू मुनि सानो इलेक्ट्रोनिक चिप प्रत्यारोपण गरिएको थियो। यो चिप शरीरमा लगाइने सानो कम्प्युटरमा जडान गरिएका अग्मेन्टेड–रियालिटी चश्मासँग वायरलेस रूपमा जोडिएको हुन्छ।

यो प्रणालीलाई फोटोभोल्टिक रेटीना इम्प्लान्ट माइक्रोएरे वा प्राइमा सिस्टम भनिन्छ। चश्मामा रहेको भिडियो क्यामेराले अक्षर वा वस्तुको तस्बिर कैद गर्छ र त्यसलाई इन्फ्रारेड प्रकाशको रूपमा प्रत्यारोपित चिपमा पठाउँछ। चिपले त्यस प्रकाशलाई विद्युत् संकेतमा रूपान्तरण गर्छ, जसलाई मस्तिष्कले दृष्टिका रूपमा बुझ्छ।

इरभिनले भनिन्, “यो आफ्नै आँखाबाट हेर्ने नयाँ तरिका हो, र पहिलोपटक अक्षर देख्दा म अत्यन्त उत्साहित भएँ। फेरि पढ्न सिक्नु सजिलो छैन, तर अभ्यास बढाउँदै गएँ भने क्रमशः सुधार हुँदै जान्छ।”

अध्ययनका सहभागीहरूलाई नयाँ उपकरण प्रयोग गरी पढ्न सिक्नका लागि महिनौँ लामो प्रशिक्षण दिइएको थियो। अनुसन्धानकर्ताहरूले बिरामीहरूलाई उपकरण विभिन्न तरिकाले प्रयोग गर्न पनि प्रोत्साहित गरे। इरभिनले यस उपकरणको प्रयोग गरेर कोठेपद हल गरिन्, भने अर्को बिरामीले यसैको सहयोगले पेरिस मेट्रो प्रणालीमा यात्रा गरे। क्यामराको जूम फङ्सनले औषधिको लेबलमा लेखिएका विवरणहरूजस्ता साना अक्षरहरू पढ्न पनि मद्दत गर्छ।

तर यो प्रणालीका केही सीमितताहरू पनि छन्। अध्ययनमा संलग्न नभएका म्यास आइ एण्ड इयरका रेटिना विभागका निर्देशक डा. डेमेट्रियोस भाभासका अनुसार, हालको रूपमा यो उपकरणले केवल कालो र सेतो दृष्टि पुनःस्थापना गर्न सक्छ, र रंग वा ग्रेस्केल देखाउन सक्दैन। त्यसैले यसले अनुहार चिन्ने क्षमता प्रदान गर्दैन। साथै, लामो समय प्रयोगपछि उपकरणको प्रभावकारिता स्थिर रहन्छ कि रहँदैन भन्ने कुरा स्पष्ट भएको छैन।

तर भाभासका अनुसार, “यस उपकरणका नयाँ संस्करणहरू अझ सुधारिँदै गए भने यो निश्चित रूपमा केही बिरामीहरूका लागि वास्तविक समाधान बन्न सक्छ।”

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ७ कार्तिक २०८२, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ७ कार्तिक २०८२, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ७ कार्तिक २०८२, शुक्रबार