
काठमाडौं ।
इलेक्ट्रिक भेहिकल जायन्ट कम्पनी टेस्लाले थाइल्याण्डमा निर्माण कारखाना निर्माण गर्ने आफ्नो योजना रोक्ने निर्णय गरेको छ। साथै कम्पनीले यसको सट्टा अब देशभित्रै आफ्नो चार्जिङ नेटवर्क विस्तारमा ध्यान दिने भएको छ।
प्रारम्भिक वार्ताका क्रममा ५ बिलियन अमेरिकी डलर लगानी गर्ने सहमति भएकोमा हाल आएर टेस्लाले चार्जिङ पूर्वाधारलाई प्राथमिकता दिएको छ।
रणनीतिमा गरिएको यो परिवर्तनले टेस्ला र थाई सरकारका अधिकारीहरू बीचको अघिल्लो छलफललाई पछ्याएको जनाइएको छ।
साथै उक्त उच्च स्तरीय बैठक सन् २०२३ को नोभेम्बरमा टेस्लाका सीईओ इलन मस्क र थाई प्रधानमन्त्री श्रेथा थाभिसिन बीच भएको थियो। प्रारम्भिक वार्ताका क्रममा थाईल्याण्डमा खोलिने कारखानामा सम्भावित ५ अर्ब अमेरिकी डलर लगानीको सुझाव दिइएकोमा अब भने टेस्लाले स्थानीय उत्पादन भन्दा चार्ज पूर्वाधार विकासलाई प्राथमिकता दिने निर्णय गरेको उल्लेख छ।
यो निर्णय टेस्लाको फराकिलो विश्वव्यापी रणनीतिसँग मिल्दोजुल्दो हुनुका साथै यसले बढ्दो ईभी प्रयोगलाई समर्थन गर्नको लागि कम्पनीको चार्जिङ नेटवर्क विस्तारमा जोड दिने जनाइएको छ।
कम्पनीले चीन, संयुक्त राज्य अमेरिका र जर्मनीमा अवस्थित कारखानाहरूमा उत्पादन बढाउन जारी राख्दै गर्दा टेस्लाले नयाँ उत्पादन केन्द्रहरू स्थापना गर्नुको सट्टा बजार विकास र चार्ज गर्ने पूर्वाधारमा आफ्नो स्रोतहरू केन्द्रित गर्न रोजेको देखिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ श्रावण २०८१, बिहीबार