काठमाडौं ।
टेस्लाले ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन सुरु गरेको छ। कम्पनीले अमेरिकाको क्यालिफोर्नियास्थित फ्रिमन्ट कारखानामा विद्युतीय कार उत्पादनका लागि पहिले प्रयोग गरिएका स्थानमा यी रोबोट बनाउन थालेको हो।
टेलिग्राफका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सुरुमा रोबोटको उत्पादन क्रमिक रूपमा बढाइने बताएका छन्। तर, सन् २०२७ को अन्त्यसम्ममा प्रतिहप्ता २० हजार रोबोट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। यद्यपि, यी रोबोटको सुरक्षा, टिकाउपन र कृत्रिम बुद्धिमतामा अझै सुधार गर्न आवश्यक छ।
यसैबीच टेस्लाले चालु वर्षको तेस्रो त्रैमासिकमा ७८ करोड ७० लाख अमेरिकी डलर खुद नाफा कमाएको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत कम हो।
कृत्रिम बुद्धिमता, रोबोटिक्स र स्वचालित ड्राइभिङ प्रविधिमा उच्च लगानीका बीच कम्पनीको आम्दानी भने लगभग स्थिर रहेको छ। तेस्रो त्रैमासिकमा कम्पनीले २८ अर्ब ४ करोड अमेरिकी डलर आम्दानी गरेको छ।
कम्पनीले मानवीय निगरानीबिना नै गाडी चलाउन सक्ने फुल सेल्फ ड्राइभिङ प्रणालीको संस्करणमा पनि काम गरिरहेको छ। तर, यसको सार्वजनिक गर्ने समय फेरि पछाडि सारिएको छ।
प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार