युरोपमा विद्युतीय कारको बिक्रीले पेट्रोल कारलाई उछिन्यो

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
युरोपमा विद्युतीय कारको बिक्रीले पेट्रोल कारलाई उछिन्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

युरोपेली बजारमा पहिलो पटक पूर्ण विद्युतीय सवारी साधनहरू (बीईभी) को बिक्रीले पेट्रोल–मात्र प्रयोग हुने सवारी साधनको बिक्रीलाई उछिनेको छ। साथै यो उपलब्धी अटोमोटिभ उद्योगको लागि ऐतिहासिक क्षण भएको बताइएको छ।

मे महिनामा युरोपमा (युरोपेली संघ, युनाइटेड किङ्गडम र ईएफटीए देशहरू सहित) नयाँ कार बजारको २३.३ प्रतिशत इलेक्ट्रिक सवारी साधनहरूले ओगटेको बताइएको छ भने पेट्रोल कारहरू २१.७ प्रतिशतमा झरेका थिए। हाइब्रिडहरूले बजारको सबैभन्दा ठूलो हिस्साको साथ प्रभुत्व जमाइरहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

वर्षको पहिलो पाँच महिनामा ईयूमा ९५०,००० भन्दा बढी विद्युतीय कारहरू दर्ता भएको र त्यसले बजारको २० प्रशतति प्रतिनिधित्व गरेको बताइएको छ।

पेट्रोल र डिजेल कारहरूको माग घट्दै गइरहेको बताइएको छ। पेट्रोल मोडेलहरूको दर्ता १८.२ प्रतिशतले घटेको छ भने डिजेल कारहरू १६.६ प्रतिशतले घटेका छन्।

इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी साधनहरु) को बिक्रीमा सबैभन्दा बलियो वृद्धि इटाली (+७५.७ प्रतिशत), फ्रान्स (+५५.४ प्रतिशत) र जर्मनी (+४०.९ प्रतिशत) मा रेकर्ड गरिएको छ।

त्यसैगरी, टेस्लाले पनि महत्त्वपूर्ण भूमिका खेलेको र मे महिनामा युरोपमा बिक्री लगभग दोब्बर भएको उल्लेख गरिएको छ।

टेस्ला मोडेल वाई १७,१८३ युनिटका साथ ईयूमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कारको रूपमा फर्कियो भने टेस्ला मोडेल ३ ९,५६६ युनिटका साथ दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, चिनियाँ ब्रान्डहरूले स्थान हासिल गर्न जारी राखेको उल्लेख गरिएको छ। तिनीहरूले मे महिनामा १२१,०३० सवारी साधनहरू बिक्री गर्दै पहिलो पटक १०.७ प्रतिशतको बजार हिस्सा हासिल गरेको र गत वर्षको सोही अवधिको तुलनामा लगभग दोब्बर भएको बताइएको छ।

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...