काठमाडौं ।
सन् २०३५ मा एनबी-आईओटी, एमएमटीसी र ईरेडक्यापले सेलुलर इन्टरनेट अफ थिङ्स (आईओटी) मोड्युल तथा जडानहरूमा प्रभुत्व जमाउनेछन् र कुल जडानको दुई तिहाइ हिस्सा ओगट्नेछन्।
अनुसन्धान संस्था ओम्डियाको नयाँ अध्ययनअनुसार विश्वव्यापी सेलुलर आईओटी जडान सन् २०३५ सम्म ५.९ अर्ब पुग्ने अनुमान गरिएको छ जुन सन् २०२६ को ४.३ अर्बबाट वृद्धि हो।
अध्ययनले एनबी-आईओटी, एमएमटीसी र ईरेडक्याप लाई बजार वृद्धिका प्रमुख कारकका रूपमा उल्लेख गरेको छ। यी प्रविधिहरूले कुल अनुमानित बजारको ६५ प्रतिशत हिस्सा ओगट्नेछन्।
ओम्डियाका अनुसार रेडक्याप को तुलनामा ईरेडक्याप बढी सफल हुने सम्भावना छ किनभने हालसम्म रेडक्याप को प्रयोग उच्च मोड्युल मूल्य र फाइभजी स्ट्यान्डअलोन (एसए) नेटवर्क विस्तारको सुस्त गतिका कारण सीमित रहेको छ।
यस वर्ष विश्वभर पहिलो ईरेडक्याप मोड्युलहरू सार्वजनिक भइसकेका छन्। ओम्डियाले फाइभजी एसए नेटवर्कको बढ्दो उपलब्धताबाट यस प्रविधिले लाभ उठाउने अपेक्षा गरेको छ। प्रारम्भिक चरणमा रेडक्याप को विस्तार सुस्त भए पनि नयाँ एप्पल वाच शृंखलामा यसको प्रयोगले सम्भावना देखाएको छ।
टेलिकम्स डटकमका अनुसार क्षेत्रगत रूपमा हेर्दा एशिया तथा ओसिनियामा एनबी-आईओटी अझै प्रमुख प्रविधि रहेको छ। सन् २०२५ मा यसले विश्वव्यापी मोड्युल ढुवानीको ८६ प्रतिशत हिस्सा ओगटेको थियो। यसैबीच एलटीई-एम पनि विश्वभर विस्तार भइरहेको छ र यस क्षेत्रको मोड्युल बजारमा सन् २०३५ सम्म ५८ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ।
अध्ययनले लगानी वृद्धिलाई पनि महत्वपूर्ण सूचकका रूपमा उल्लेख गरेको छ। अमेरिकाको इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट एण्ड जब्स एक्ट
तथा इन्फ्लेशन रिडक्शन एक्टले स्मार्ट ग्रिड, युटिलिटी सेवा र विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारमा ठूलो स्तरको विस्तारलाई गति दिइरहेको बताइएको छ। यसले मजबुत फोरजी र फाइभजी मोड्युलका लागि उच्च वृद्धि हुने बजार सिर्जना गरिरहेको छ।
“फाइभजी एसए नेटवर्कहरू अहिले व्यापक रूपमा विस्तार भइसकेका छन् र मोड्युलको मूल्य पनि सुरुदेखि नै उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ। त्यसैले ईरेडक्याप ले रेडक्याप को सुरुआती विस्तारमा देखिएका पूर्वाधार तथा लागतसम्बन्धी अवरोधहरूबाट बच्न सक्नेछ,” ओम्डियाका वरिष्ठ विश्लेषक अलेक्जेन्डर थम्पसनले भने।
“यसको परिणामस्वरूप आईओटी कम्पनीहरूले एनबी-आईओटी, एलटीई-एम, क्याट-१बिस, रेडक्याप र ईरेडक्याप मध्ये आफ्नो आवश्यकता अनुसार प्रदर्शन र लागतका आधारमा छनोट गर्न सक्ने समृद्ध प्रविधि इकोसिस्टम निर्माण हुनेछ।”
विभिन्न क्षेत्रमध्ये अटोमोटिभ क्षेत्र सबैभन्दा तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ। सन् २०३५ सम्म यस क्षेत्रमा १ अर्बभन्दा बढी जडान हुने अपेक्षा गरिएको छ।
अनुमान अवधिको अन्त्यसम्म ८९ प्रतिशत अटोमोटिभ मोड्युलले फाइभजी प्रयोग गर्ने र चिनियाँ तथा अन्तर्राष्ट्रिय सवारी निर्माता कम्पनीहरूले मोबाइल कनेक्टिभिटीलाई मानकीकरण गर्ने कारणले यस्तो वृद्धि हुने बताइएको छ। भेहिकल-टू-एभ्रिथिङ (भीटूएक्स) अनुप्रयोगहरूले पनि उन्नत कनेक्टिभिटीको माग बढाइरहेका छन्।
आईओटी कनेक्टिभिटीमा चिनियाँ अपरेटरहरूको प्रभुत्व पनि अध्ययनले देखाएको छ। गत वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चाइना मोबाइलले ३७.६ प्रतिशत, चाइना टेलिकमले १८.८ प्रतिशत र चाइना यूनिकमले १७.८ प्रतिशत विश्वव्यापी मोबाइल अपरेटर सेलुलर आईओटी जडान हिस्सा ओगटेका थिए।
यी तीन कम्पनीले मिलेर विश्वका कुल जडानमध्ये ७४ प्रतिशत हिस्सा नियन्त्रण गरेका थिए। सन् २०२४ को तुलनामा हिस्सा केही घटे पनि तिनीहरू अन्य सबै अपरेटरभन्दा धेरै अगाडि रहेका छन्। उदाहरणका लागि, चीन बाहिरको सबैभन्दा ठूलो अपरेटर भोडाफोनको हिस्सा केवल ५.२ प्रतिशत रहेको छ।
बिक्रेता कम्पनीहरूको पक्षमा पनि चिनियाँ कम्पनीहरूको प्रभाव बढेको अध्ययनले उल्लेख गरेको छ। “चिनियाँ विक्रेताहरूले ठूलो उत्पादन क्षमता, कम लागतको उत्पादन र बलियो घरेलु मागको सहायताले आफ्नो सामूहिक प्रभुत्व अझ मजबुत बनाएका छन्,” अध्ययनमा भनिएको छ। “क्वेकटेलले ढुवानी परिमाण र आम्दानी दुवैमा विश्वव्यापी नेतृत्व कायम राख्यो, यद्यपि मध्यम स्तरका प्रतिस्पर्धीहरू तीव्र गतिमा अघि बढ्दा यसको हिस्सा केही घटेको छ।”
अध्ययनका अनुसार आगामी वर्षहरूमा बजार दुई भागमा विभाजित हुने सम्भावना छ। चिनियाँ कम्पनीहरूले ठूलो परिमाणको बजारमा प्रभुत्व कायम राख्नेछन् भने पश्चिमी आपूर्तिकर्ताहरू सुरक्षा-संवेदनशील क्षेत्रहरूमा केन्द्रित हुनेछन्। यस प्रवृत्तिको प्रमुख कारण भूराजनीतिक दबाब रहेको अध्ययनले जनाएको छ।
प्रकाशित: १२ असार २०८३, शुक्रबार