आईबीएमले १ एनएमभन्दा सानो चिप उत्पादन गर्न सक्ने विश्वकै पहिलो प्रविधि विकास गर्यो

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
आईबीएमले १ एनएमभन्दा सानो चिप उत्पादन गर्न सक्ने विश्वकै पहिलो प्रविधि विकास गर्यो

काठमाडौं ।

एआई कम्प्युटिङका लागि चिप विकासको दौड तीव्र भइरहेका बेला आईबीएमले बिहीबार १ न्यानोमिटरभन्दा सानो चिप उत्पादन गर्न सक्ने विश्वकै पहिलो प्रविधि विकास गरेको दाबी गरेको छ।

न्यूयोर्कको आर्मोन्कस्थित कम्पनीको सेयर प्रि-मार्केट कारोबारमा ६ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि यस वर्ष हालसम्म कम्पनीको सेयर मूल्य करिब ११ प्रतिशतले घटेको छ।

यो घोषणा चिप निर्माता कम्पनीहरूले दशकौँदेखि जारी रहेको सानो ठाउँमा बढी कम्प्युटिङ शक्ति समेट्ने प्रवृत्तिलाई कायम राख्ने उपाय खोजिरहेका बेला आएको हो। यसलाई ‘मूरको नियम’ भनेर चिनिन्छ।

रोयटर्सका अनुसार टीएसएमसी र इन्टेलजस्ता चिप निर्माता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न आईबीएमको अवस्थालाई थप मजबुत बनाउने नयाँ चिप प्रविधिमा ०.७ न्यानोमिटर अर्थात् ७ एङ्स्ट्रम ट्रान्जिस्टर आर्किटेक्चर प्रयोग गरिएको छ।

गत साता इन्टेलले १.८ न्यानोमिटर चिप उत्पादन गर्ने आफ्नो नयाँ 18A निर्माण प्रक्रियाको अर्को पुस्ता व्यावसायिक उत्पादनअघि गरिने परीक्षण चरण अर्थात् ‘रिस्क प्रोडक्सन’ मा प्रवेश गरेको जनाएको थियो।

आईबीएमका अनुसार ०.७ न्यानोमिटर चिपले औँलाको नङ बराबरको सतहमा करिब १०० अर्ब ट्रान्जिस्टर समेट्न सक्छ, जुन सन् २०२१ मा सार्वजनिक गरिएको यसको २ न्यानोमिटर चिपको तुलनामा करिब दोब्बर घनत्व हो। यसले ५० प्रतिशतसम्म बढी कार्यसम्पादन वा ७० प्रतिशतसम्म बढी ऊर्जा दक्षता प्रदान गर्न सक्छ।

यस उपलब्धिका लागि आईबीएमले “न्यानोस्ट्याक” नामक नयाँ ट्रान्जिस्टर डिजाइन विकास गरेको छ। यसमा ट्रान्जिस्टरहरूलाई समतल रूपमा राख्नुको सट्टा तीन आयाममा एकअर्काको माथि राखिन्छ, जसले एउटै स्थानमा बढी ट्रान्जिस्टर अटाउन सम्भव बनाउँछ।

आईबीएम रिसर्चका निर्देशक जे गाम्बेट्टाले भने, “हाम्रो नयाँ न्यानोस्ट्याक आर्किटेक्चरसँग हामी केवल साना ट्रान्जिस्टर मात्र बनाइरहेका छैनौँ, हामी चिप निर्माणको तरिकालाई नै पुनःपरिभाषित गर्दै उल्लेखनीय रूपमा बढी शक्ति र ऊर्जा दक्षता उपलब्ध गराइरहेका छौँ।”

आईबीएमका अनुसार यो प्रविधिमा आधारित चिपको उत्पादन पाँच वर्षभित्र सुरु हुन सक्छ। कम्पनीले यसअघि चिप प्रविधि सामसङ र जापानको Rapidus लाई लाइसेन्स दिएको थियो। तर यस प्रविधिका लागि उत्पादन साझेदार भने हालसम्म घोषणा गरेको छैन।

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...