काठमाडौं ।
टेस्लाले बेलायतमा फाइभजी प्रविधिसम्बन्धी पेटेन्ट लाइसेन्स विवादमा पुनः मुद्दा अघि बढाउने अनुमति पाएको छ। यो मुद्दा कम्पनीले बेलायतमा फाइभजी सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला दायर गरेको हो।
इलन मस्कको टेस्लाले सन् २०२३ मा अमेरिकी प्रविधि कम्पनी इन्टरडिजिटल र विभिन्न कम्पनीका पेटेन्ट लाइसेन्स उपलब्ध गराउने प्लेटफर्म अवान्सीविरुद्ध लन्डनको उच्च अदालतमा मुद्दा दायर गरेको थियो।
टेस्लाले इन्टरडिजिटलसहित विभिन्न पेटेन्टधनीका अवान्सीमार्फत लाइसेन्स गरिएका पेटेन्ट प्रयोग गर्न पाउने निष्पक्ष, उचित र भेदभावरहित (एफआरएएनडी) सर्त निर्धारण गरिदिन अदालतसँग माग गरेको थियो।
रोइटर्सका अनुसार इन्टरडिजिटल र अवान्सीले उक्त माग खारेज गर्न आग्रह गरेका थिए। लन्डन उच्च अदालतले सन् २०२४ मा उनीहरूको पक्षमा फैसला गर्दै टेस्लाको एफआरएएनडी सर्त निर्धारणसम्बन्धी माग अस्वीकार गरेको थियो।
तर इन्टरडिजिटलका तीन वटा पेटेन्ट खारेज गर्न माग गरिएको मुद्दा भने अघि बढ्न अनुमति दिएको थियो।
त्यसपछि टेस्लाले अपिल अदालतमा पुनरावेदन गरे पनि असफल भएको थियो। त्यसपछि कम्पनीले टेक लबिङ समूह सीसीआईए र मोसन पिक्चर एसोसिएसनलगायतका संस्थाको समर्थनमा बेलायतको सर्वोच्च अदालतमा चुनौती दिएको थियो।
बेलायतको सर्वोच्च अदालतले सोमबार टेस्लाको पक्षमा फैसला गर्दै पेटेन्टधनी कम्पनीहरू पेटेन्ट पूल वा लाइसेन्सिङ प्लेटफर्ममा आबद्ध हुँदैमा निष्पक्ष, उचित र भेदभावरहित (एफआरएएनडी) सर्तमा लाइसेन्स उपलब्ध गराउने दायित्वबाट मुक्त नहुने जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८३, सोमबार