प्रविधि लाइसेन्सको बदलामा कमकास्ट र चार्टरमा सेयर स्वामित्व लिन जियोको प्रस्ताव

  • Technology Khabar | २१ कार्तिक २०८३, शनिबार
प्रविधि लाइसेन्सको बदलामा कमकास्ट र चार्टरमा सेयर स्वामित्व लिन जियोको प्रस्ताव

काठमाडौं ।

भारतीय दूरसञ्चार सेवा प्रदायक जियो प्लेटफर्म्सले आफ्नो यूबीआर वायरलेस ब्रोडब्यान्ड प्रविधि लाइसेन्स दिने बदलामा कमकास्ट, चार्टर लगायतका कम्पनीमा सेयर स्वामित्व लिन छलफल गरेको खुलासा भएको छ।

यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार जियोले अमेरिकी केबल सेवा प्रदायकसहित आफूले छलफल गरेका कुनै पनि कम्पनीसँग निश्चित समयसीमा तोकेर काम गरिरहेको छैन।

दक्षिण अफ्रिकाको एमटीएन पनि छलफलमा रहेको कम्पनीको सूचीमा थियो। तर कम्पनीहरूबीच मूल्यांकन र केही अस्पष्ट लाइसेन्ससम्बन्धी विषयमा सहमति हुन नसकेपछि छलफल अघि बढ्न सकेन। एक स्रोतका अनुसार एमटीएनले जियोलाई पर्याप्त उच्च मूल्यांकनमा लगानी गर्न मनाउन सकेन।

यो एउटा रोचक व्यावसायिक मोडेल हो, जसले जियो प्लेटफर्म्स लाई भारतमा सफलताको संकेत देखाइरहेको आफ्नो स्वामित्वको फिक्स्ड वायरलेस प्रविधि विदेशका विभिन्न बजारमा विस्तार गर्ने अवसर दिन सक्छ।

समाचार एजेन्सीका अनुसार जियोले हालै आफ्नो यूबीआर प्रविधिका लागि विदेशमा १० देखि १५ साझेदार खोजिरहेको बताएको थियो।

यूबीआर अर्थात् अनलाइसेन्स्ड ब्यान्ड रेडियो जियो प्लेटफर्म्सले घरायसी ब्रोडब्यान्डका लागि फाइभजी आधारित फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) प्रविधिका सीमितता हटाउने उद्देश्यले विकास गरेको हो।

जियो प्लेटफर्म्सका प्रबन्ध निर्देशक आकाश अम्बानीले गत महिना कम्पनीको आईपीओसम्बन्धी पत्रकार सम्मेलनमा यो प्रविधिको खुलेर प्रशंसा गरेका थिए। उनले आगामी दिनमा घरायसी ब्रोडब्यान्ड र यसबाट सम्भव हुने सेवाहरू कम्पनीको विकासका लागि महत्त्वपूर्ण हुने स्पष्ट पारेका थिए।

कार्यक्रममा बोल्दै अम्बानीले रिलायन्स जियोको फाइबर नेटवर्क करिब ४ करोड घरसम्म पुगेको बताए। उक्त कार्यक्रम भारतको न्युज नाइनसहित विभिन्न सञ्चारमाध्यमले प्रसारण गरेका थिए। तर भारतमा ३० करोड घर छन्, जसमध्ये १० करोड घरमा पे टिभी सेवा प्रयोग हुन्छ। यही क्षेत्रमा जिओ का लागि विस्तारको ठूलो अवसर रहेको उनले बताए।

“हामी यसलाई आफ्नो सबैभन्दा ठूलो वृद्धि चालकका रूपमा हेर्छौं,” अम्बानीले भने। विशेषगरी १० करोड पे टिभी ग्राहकसम्म पुग्नका लागि “अन्तिम चरणको कनेक्टिभिटी वायरलेस हुनुपर्छ भन्ने कुरा हामीलाई स्पष्ट भएको थियो,” उनले बताए।

उनका अनुसार सामान्य फाइभजी एफडब्लूए प्रविधिले यति ठूलो संख्यामा ग्राहकलाई सेवा दिन सक्ने अवस्था थिएन। “त्यसैले हामीले त्यसैको आधारमा आफ्नै प्रविधि विकास गर्‍यौँ,” उनले भने। “हाम्रो प्रविधि फाइभजी को अनलाइसेन्स्ड ब्यान्ड अर्थात् वाइफाइ ब्यान्डमा सञ्चालन हुन्छ। अहिले हामीले थपेका नयाँ ग्राहकहरूमध्ये ४० प्रतिशत यही प्रविधिमार्फत जोडिएका छन्।”

अम्बानीका अनुसार दूरसञ्चार कम्पनीले गत सेप्टेम्बरको अन्त्यसम्म ३ करोड घरायसी ब्रोडब्यान्ड ग्राहक रहेको दाबी गरेको थियो। तीमध्ये करिब ६५ लाख ग्राहक यूबीआर प्रविधिमार्फत जोडिएका छन्। यस प्रविधिका कारण कम्पनीले थपेका नयाँ ग्राहकहरूमध्ये ४० प्रतिशत भारतका पहिलो र दोस्रो तहका सहरबाहिरका छन्।

अम्बानीले कम्पनीको प्रविधि विकासको अवस्थाबारे पनि जानकारी दिए। हालको पुस्ताको यूबीआर प्रविधिले घरायसी ब्रोडब्यान्डमा अपलोड र डाउनलोड दुवै दिशामा समान १ जीबीपीएस गति दिन सक्छ।

तर यस वर्षको सुरुवातमा प्रदर्शन गरिएको अर्को पुस्ताको प्रविधिले डाउनलोडमा ५ जीबीपीएस र अपलोडमा १ जीबीपीएस गति उपलब्ध गराउन सक्ने उनले बताए।

स्पष्ट रूपमा यो जियो प्लेटफर्म्सको प्रमुख प्राथमिकतामध्ये एक हो। त्यसैले कम्पनीले आफ्नो प्रविधि अन्य बजारमा विस्तार गर्न चाहनु स्वाभाविक देखिन्छ।

अमेरिका फिक्स्ड वायरलेस सेवाका लागि प्रमुख बजार हो। त्यहाँका तीनवटै ठूला दूरसञ्चार कम्पनीले यस प्रविधिमा लगानी र विस्तार गरिरहेका छन्। यसैबीच, केबल सेवा प्रदायक कम्पनीहरूले लामो समयदेखि फाइबर र एफडब्लूए सेवाका कारण बजार हिस्सा गुमाउँदै आएका छन्।

त्यसैले चार्टर वा कमकास्ट जस्ता कम्पनी र जियो प्लेटफर्म्स बीच कुनै सम्झौता हुनु केबल सेवा प्रदायकका लागि तार्किक कदम हुन सक्छ। तर त्यसका लागि यस्तो सम्झौताबाट हुने आम्दानी र खर्चबीचको हिसाब मिल्नुपर्नेछ।

प्रकाशित: २१ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...