
काठमाडौं ।
केही दिन अगाडि मात्र स्कुटीको प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी सवारी चालक अनुमतिपत्र लिन तिर्नुपर्ने राजस्व बुझाउन यातायात व्यवस्था कार्यालय लहान आएकी सप्तरी कञ्चनपुरकी अप्सरा अधिकारीले स्मार्ट लाइसेन्स कार्ड नै पाउनु भएपछि उनमा खुसीको सीमा रहेन्।
“प्रयोगात्मक परीक्षा उत्तीर्ण गरे पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स कार्ड पाउन पर्खिनुपर्छ भन्ने सुनेको थिएँ तर प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी पहिलो पटक कार्यालयमा आएको दिनमै स्मार्ट कार्ड हात पर्यो’, अधिकारीले खुसी हुँदै भनिन्, “मैले त सोचेकै थिइनँ, प्रयोगात्मक परीक्षापछि कार्यालयमा राजस्व तिरेको रसिद नै चेक जाँचको क्रममा देखाउनुपर्छ भन्ने जानेको थिएँ तर स्मार्ट कार्ड नै पाइयो।”
गत भदौ २९ गतेदेखि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीलाई क्यूआर कोडसहितको परीक्षणकालीन सवारी चालक अनुमति (स्मार्ट लाइसेन्स कार्ड) पत्र वितरण सुरु गरेको यातायात व्यवस्था कार्यालय लहानले एक महिना नपुग्दै शुक्रबारसम्म ८४० जनालाई यस्तो कार्ड वितरण गरिसकेको छ।
एकै दिनमा एक हजार थान स्मार्ट लाइसेन्स कार्ड प्रिन्ट गर्ने क्षमता रहेको कार्ड प्रिन्टर राखेपछि कार्यालयले सेवाग्राहीलाई तत्कालै अस्थायी स्मार्ट कार्ड वितरण गर्ने गरेको लाइसेन्स फाँटका प्रमुख विजय दाहालले बताए।
यो कार्डको अवधि एक वर्षको रहने बताइएको छ। परीक्षणकालीन स्मार्ट लाइसेन्स कार्ड लिएको एक वर्षभित्र विभागबाट छापिएर आएपछि सो कार्ड कार्यालयले वितरण गर्ने व्यवस्था रहेको जनाइएको छ।
“प्रयोगात्मक परीक्षा उत्तीर्ण गरे पनि स्मार्ट लाइसेन्स कार्ड आउन एक वर्षसम्म लाग्दा त्यस अवधिसम्म यातायात कार्यालयले दिएको रसिद बोकेर सवारीसाधन चलाउनुपर्ने बाध्यता थियो । यो कार्ड वितरण भएदेखि अन्त्य भएको छ’, यातायात व्यवस्था कार्यालय लहानका प्रमुख मिन भट्टराईले भने।
उनले बाँकी सेवाग्राहीको स्मार्ट लाइसेन्स कार्ड दशैँ, तिहारभित्रमा विभागबाटै आउने तयारी भइरहेको जानकारी दिए। गोरखापत्र
प्रकाशित: २४ आश्विन २०७८, आईतवार