
काठमाडौं ।
चीनले क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई नकारात्मक सूचीमा राख्ने भएको छ। यस्ता सूचीमा रहेका उद्योगहरुमा लगानी गर्न प्रतिबन्ध लगाइएको हुन्छ।
चीनको राज्य योजनाकारले गत शुक्रबार जारी गरेको दस्तावेजमा यस्तो उल्लेख भएको थियो।
यी सूचीमा रहेका उद्योगमा चीनको मात्र नभइ विदेशीले पनि लगानी गर्न पाउँदैनन्।
चीनका नियामकहरुले क्रिप्टोकरेन्सीको व्यापार तथा माइनिङमाथि यसै वर्ष प्रतिबन्ध लगाएको थियो। गत महिना देशकव केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै गतिविधिलाई अवैध हुने घोषणा गरेको थियो।
यो घोषणापछि क्रिप्टोकरेन्सी सटही गर्नेहरुले चिनियाँ यूजरहरुसँगको सहकार्य तोड्नुपरेको थियो।
यसबाहेक चीनले सार्वजनिक बहस, समाजलाई प्रदूषित गरेको भन्दै मनोरन्जन व्यवसायमाथि कडाइ तथा मोबाइल ब्राउजरलाई अफवाह हटाउन, सम्वेदनशील शीर्षक नराख्न तथा समाजवादको मान्यता उल्लङ्घन हुने खालका सामग्री प्रकाशित नगर्न उर्दी जारी गरेको छ।
राज्य योजनाकारले विभिन्न प्रकाशन गतिविधिमा गैर-सार्वजनिक पुँजी लगानी हुनबाट रोक्न लागेको बताएको छ। यी गतिविधि तथा संस्थामा लाइभ ब्रोडकास्ट, समाचार संकलन, सम्पादन तथा प्रसारण संस्था र समाचार सञ्चालन गर्ने संस्थाहरु परेका छन्।
एनडीआरसी नामक उक्त नियामकले गैर सार्वजनिक रकम समुद्रपारका संस्थाले समाचार दिने तथा समाचार तथा सार्वजनिक अभिमतका क्षेत्रमा हुने सम्मेलन तथा अवार्ड चयनका गतिविधिमा संलग्न नहुने बताएको छ।
प्रकाशित: २४ आश्विन २०७८, आईतवार