काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी ह्वावेले नयाँ ‘लजिकफोल्डिङ’ सेमिकन्डक्टर प्रविधि थप स्मार्टफोनमा प्रयोग गर्ने भएको छ। कम्पनीले चिप उत्पादन क्षमता विस्तार गर्दै विदेशमा आफ्नो स्मार्टफोन बजार पुनः विस्तार गर्ने प्रयास गरिरहेको ह्वावे कन्ज्युमर बिजनेसका प्रमुख रिचर्ड युले बताएका छन्।
सन् १९९३ मा ह्वावे प्रवेश गरेका युले कम्पनीले सन् २००७ देखि २०२५ सम्म अनुसन्धान तथा विकास (आरएन्डडी) मा १.८ ट्रिलियन युआनभन्दा बढी लगानी गरेको बताए। कम्पनीको वार्षिक आरएन्डडी लगानी सुरुवाती वर्षमा कुल आम्दानीको करिब १० प्रतिशत रहेकोमा पछिल्लो समय २० प्रतिशतभन्दा बढी पुगेको छ।
ह्वावेले हालै सार्वजनिक गरेको मेट ९० सिरिजमा कम्पनीकै नयाँ किरिन ९०५० प्रो चिप प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले अघिल्लो पुस्ताको तुलनामा समग्र डिभाइस प्रदर्शन ३१ प्रतिशतले बढाउँछ।
चिपमा प्रयोग भएका बालोङ मोडेम, इमेज सिग्नल प्रोसेसर (आईएसपी), मोबाइल सेक्युरिटी प्रोसेसर, लिङ्सी सीपीयू, मालेऊन जीपीयू र एआई प्रशोधनका लागि डा भिन्ची आर्किटेक्चरमा आधारित एनपीयू ह्वावेले नै डिजाइन गरेको हो।
किरिन ९०५० प्रोमा ह्वावेको ‘टाउ स्केलिङ ल’अन्तर्गत विकसित लजिकफोल्डिङ प्रविधि पनि प्रयोग गरिएको छ। यसले चिपका लजिक तहलाई ठाडो रूपमा राखेर तहहरूबीच उच्च घनत्वको इन्टरकनेक्सन प्रयोग गर्छ। यसबाट सिग्नलको दूरी घटाएर विलम्बता कम गर्ने कम्पनीको दाबी छ। यही प्रविधिका कारण चिपले डिभाइसमा ३० अर्ब प्यारामिटरको ‘मिक्स्चर अफ एक्सपर्ट्स’ एआई मोडल चलाउन सक्ने ह्वावेले जनाएको छ।
लजिकफोल्डिङ चिप थप फोनमा प्रयोग हुन्छ कि हुँदैन भन्ने प्रश्नमा युले मेट एक्सटी २ ट्राइ-फोल्ड फोनबाट यसको प्रयोग सुरु गरिसकेको र भविष्यमा थप स्मार्टफोनमा यस्ता चिप प्रयोग हुने बताए।
उनका अनुसार चीनमा उन्नत सेमिकन्डक्टर उत्पादन क्षमता अझै बढ्दो मागअनुसार पर्याप्त छैन। ह्वावेको एसेन्ड एआई चिपले पनि यही उत्पादन क्षमताको प्रयोग गर्छ। कम्पनीले एआई र स्मार्टफोन दुवैका चिपको आवश्यकतालाई समेटेर उत्पादन योजना बनाएको उनले बताए।
युले पछिल्लो दुई वर्षमा मेमोरी कम्पोनेन्टको मूल्य बढ्दा स्मार्टफोन बिक्रीमा केही असर परेको पनि बताए। यद्यपि हालको उत्पादन क्षमता ह्वावेको बजार आपूर्तिका लागि सामान्यतः पर्याप्त रहेको उनको भनाइ छ। चीनको सेमिकन्डक्टर उद्योगमा उत्पादन क्षमता बढेपछि स्वदेशी र विदेशी बजारका लागि थप उन्नत उत्पादन गर्न सकिने ह्वावेको अपेक्षा छ।
यसैबीच, ह्वावेले सन् २०१९ मा हार्मोनीओएसको विकास सुरु गरेको थियो। अहिले ९ करोडभन्दा बढी स्मार्टफोन, पीसी र ट्याब्लेटमा हार्मोनीओएस ६ र ७ चलिरहेको कम्पनीले जनाएको छ।
यो संख्या वर्षको अन्त्यसम्म १० करोड पुग्ने अपेक्षा गरिएको छ। हार्मोनीओएसको इकोसिस्टममा ४ लाख ५० हजारभन्दा बढी एप तथा सेवा, १ करोड १० लाख दर्ता भएका डेभलपर र २३ हजारभन्दा बढी एप इनोभेसन पार्टनर छन्।
युले ह्वावेले भविष्यमा हार्मोनीओएसलाई क्रमशः विश्व बजारमा लैजानेबारे विचार गरिरहेको बताए। कुनै समय विश्वकै ठूलो स्मार्टफोन निर्माता रहेको ह्वावे अहिले चीनबाहिर वार्षिक केही मिलियन थान स्मार्टफोन बिक्री गर्छ। कम्पनीले भने विदेश बजारमा क्रमशः पुनः विस्तार गर्ने प्रयास गरिरहेको छ।
ह्वावेले वेयरेबल उत्पादनमा चीन र विश्व बजार दुवैमा अग्रणी स्थानमा रहेको तथा टीडब्लुएस इयरफोन, हार्मोनीओएसमा आधारित ट्याब्लेट र मोबाइल राउटरको बजार पनि विभिन्न क्षेत्रमा विस्तार भइरहेको जनाएको छ।
युका अनुसार सन् २०१९ पछि ह्वावेले आफ्नै अपरेटिङ सिस्टम, सफ्टवेयर उपकरण र घरेलु आपूर्ति शृंखला विकास गर्दै अमेरिकी प्रविधिमाथिको निर्भरता घटाएको छ। सन् २०२३ देखि ह्वावेले स्मार्टफोनमा प्रयोग हुने चिपको घरेलु उत्पादन पुनः सुरु गरेको उनले बताए।
प्रकाशित: १८ आश्विन २०८३, आईतवार