
काठमाडौं ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसंग यहि श्रावण २२ गते शुक्रवार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससंग सम्बन्धित संस्थाहरुविच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नितिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासको निम्ति आगामी दिनमा आईपर्ने समस्या एवं चुनौतिहरु र नेपालले आगामी दिनमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने निती तथा रणनितीहरुका बारेमा सुझावहरु दिन सकिने विषयका सन्दर्भमा क्यान महासंघले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका निम्ती अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोग बाहेक अरु हुन नसक्ने बताए। हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा अपरिहार्यता रहेकोले पनि आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकास हुनु आवश्यक रहेको अध्यक्ष कुँवरले बताए।
क्यान महासंघका महासचिव नारायण थापाले क्यान महासंघले नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकास तथा विस्तारका निम्ति निजी तथा गैर-सरकारी संस्थाहरुको छाता संगठनका रुपमा नितिगत तथा कानुनी सुधारका निम्ति गरिरहेको पहललगायतका अवस्थाका बारेमा प्रकाश पारेका थिए।
नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा कार्यान्वयन गर्न सकिने साना-साना पहलहरुले पनि ठुलो परिवर्तन ल्याउन सक्ने तथा समस्याहरु मात्र औंल्याउनुको सट्टा समाधान पनि दिन सक्नुपर्ने विचार राखे।
नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आफ्नो संस्थाले हिजोको दिनमा पनि क्यान महासंघसंग सहकार्य गरेको स्मरण गर्दै यस्ता अन्तर्क्रिया कार्यक्रमहरु समय-समयमा आयोजना गरिराख्न क्यान महासंघलाई सुझाव दिए।
अन्तर्क्रियामा ई-विजनेश एसोसिएसनका अध्यक्ष सागर देव भट्ट, प्राइम आईटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ई-गभर्नेन्स सोसाइटीका उपाध्यक्ष दिपेन्द्र पौडेल, स्टार्टअप एसोसिएशन नेपालका सदस्य नारायण क्षेत्री, नेशनल आईसीटी क्लबका अध्यक्ष नेत्र प्रसाद पौडेल, डिजिटल मार्केटिङ्ग एसोसिएशन नेपालका सदस्य निरञ्जन पटेल, सिटिभिटी टेक्नोस सोसाइटी नेपालका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्यूटर फ्याकल्टी एसोसिएशन अफ नेपालका कोषाध्यक्ष दिपक ठाकुर तथा केन्द्रिय सदस्य सुवासशिव परियार र नविन अधिकारी, नेपाल डाटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरी लगायतले आ-आफ्नो धारणा राखेको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: २४ श्रावण २०७८, आईतवार