माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने

  • Technology Khabar | १० कार्तिक २०८३, मंगलवार
माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने

काठमाडौं ।

प्रविधि कम्पनी माइक्रोसफ्टले खर्च कटौती गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ठूलो लगानीका लागि स्रोत जुटाउने उद्देश्यले करिब ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव अघि सारेको छ।

कम्पनीले कर्मचारी संख्याको एक चौथाइभन्दा बढीलाई समेट्ने एआई विकासका लागि आवश्यक डाटा सेन्टर र चिपमा भइरहेको ठूलो खर्च व्यवस्थापन गर्ने प्रयासका रूपमा आएको हो।

यस विषयमा एक स्रोतले नाम सार्वजनिक नगर्ने सर्तमा रोयटर्ससँग बताएअनुसार यो कार्यक्रम एआई एक्सपिरियन्स, कोपाइलट, वित्त, ह्युमन रिसोर्सेज, एक्सबक्स तथा विन्डोज र डिभाइससम्बन्धी विभिन्न टोलीका कर्मचारीका लागि खुला हुनेछ। तर मार्केटिङ, व्यावसायिक सेवा तथा सुरक्षा क्षेत्रका कर्मचारीलाई भने यसमा समावेश गरिने छैन।

माइक्रोसफ्टकी प्रमुख ह्युमन रिसोर्सेज अफिसर एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको सूचनामा कम्पनीबाहिर आफ्नो भविष्य खोजिरहेका कर्मचारीलाई सहयोगसहित नयाँ यात्रामा अघि बढ्ने अवसर दिन यो कार्यक्रम ल्याइएको उल्लेख गरेकी छन्।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार सन् २०२६ जुन ३० सम्म माइक्रोसफ्टमा विश्वभर २ लाख २३ हजार पूर्णकालीन कर्मचारी कार्यरत थिए। नयाँ कार्यक्रम निश्चित समयका लागि मात्र लागू हुनेछ हुनेछ। क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका सहभागी टोलीका ७० वा सोभन्दा तल्लो तहका योग्य कर्मचारीले यसमा सहभागी हुन पाउनेछन्।

टेलिग्राफका अनुसार, कम्पनीले यस कार्यक्रमलाई यसअघि सञ्चालन गरिएको स्वैच्छिक अवकाश योजनाबाट प्राप्त अनुभवमा आधारित रहेको जनाएको छ।

माइक्रोसफ्टले सन् २०२६ को अन्त्यसम्म पुँजीगत खर्च १७५ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। कम्पनीले बुधबार बजार बन्द भएपछि पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

माइक्रोसफ्टले यसअघि पनि यस्तै कार्यक्रम सञ्चालन गरिसकेको छ। यसै वर्षको सुरुवातमा कम्पनीले अमेरिकामा कार्यरत आफ्नो कर्मचारीको करिब ७ प्रतिशत अर्थात् लगभग ९ हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिएको थियो।

जुलाईमा कम्पनीले आफ्नो एक्सबक्स गेमिङ व्यवसायको पुनर्संरचनाअन्तर्गत ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। यो संख्या कम्पनीको विश्वव्यापी कर्मचारीको करिब २.१ प्रतिशत हो। उक्त योजनामा पाँचवटासम्म गेम स्टुडियो बन्द गर्ने वा बाहिरिने प्रक्रिया समावेश थियो।

नयाँ स्वैच्छिक अवकाश कार्यक्रमबारेको समाचार पहिला बिजनेस इनसाइडरले सार्वजनिक गरेको थियो। वर्षको सुरुवातदेखि करिब १० प्रतिशतले बढेको माइक्रोसफ्टको सेयर मूल्य सोमबार करिब १ प्रतिशतले वृद्धि भएको थियो।

प्रकाशित: १० कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार