काठमाडौं ।
जापानको सफ्टबैंक ग्रुपले मलेसियामा ५० अर्ब डलर लगानी गर्ने योजना बनाएको मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन्।
ब्लुमबर्गको एक रिपोर्ट अनुसार, यस हप्ताको सुरुमा उनीहरूबीच भएको भिडियो कन्फरेन्सपछि, सफ्टबैंकका प्रमुख मासायोशी सन ले प्रस्तावित लगानीका लागि सारावाकको कुचिङ र प्रायद्वीपीय मलेसियाका विभिन्न स्थानहरू पहिचान गरेका छन्।
प्रधानमन्त्रीका अनुसार, यो प्रस्तावित लगानी कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र डाटा सेन्टरहरूमा केन्द्रित हुनेछ।
मलेसिया सन् २०३० सम्ममा एउटा “एआई राष्ट्र” बन्ने लक्ष्यका साथ अघि बढिरहेको बेला यो लगानीको योजना अघि आएको हो। यसका लागि सरकारले यसै वर्षको सुरुमा देशको एआई क्षमता र पूर्वाधारलाई सुदृढ पार्न ‘राष्ट्रिय एआई कार्ययोजना’ सार्वजनिक गरेको थियो।
यसै महिनाको सुरुमा, सफ्टबैंकले सिंगापुरस्थित ‘ग्राब’ र मलेसियाको ‘पेट्रोलियम सारावाक बर्हाद’ (Petroleum Sarawak Berhad) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ। यस अन्तर्गत सारावाकमा एआई कम्प्युटिङ सेवा र उन्नत प्रविधि लगायतका एआई तथा डिजिटल पूर्वाधार विकासका सम्भावनाहरू खोजिनेछन्।
मलेसियामा प्रविधि क्षेत्रमा लगानी गर्ने सफ्टबैंक मात्र एक्लो कम्पनी होइन। गुगलले सन् २०२४ मा मलेसियामा आफ्नो पहिलो डाटा सेन्टर र क्लाउड क्षेत्र निर्माण गर्न २ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ, भने अमेजन वेब सर्भिसेजले सन् २०३८ सम्ममा ६.२ अर्ब डलर लगानी गर्ने योजना रहेको जनाएको छ। त्यस्तै, माइक्रोसफ्टले पनि क्लाउड, एआई पूर्वाधार र अन्य डिजिटल पहलहरूमा २.२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।
मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका अनुसार, सन् २०२१ देखि सन् २०२६ को पहिलो छमहिनासम्मको अवधिमा मलेसियामा डाटा सेन्टरसँग सम्बन्धित ३८५.७ अर्ब रिंगित (९४ अर्ब डलर) बराबरको लगानी भित्रिएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १० कार्तिक २०८३, मंगलवार