अब एनएफटीको क्षेत्रमा हात हाल्ने यूट्युबका सीईओको संकेत

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
अब एनएफटीको क्षेत्रमा हात हाल्ने यूट्युबका सीईओको संकेत

काठमाडौं ।

यूट्युबले पनि अब बिस्तारै एनएफटीका क्षेत्रमा हात हाल्ने संकेत गरेको छ।

हालै कम्पनीका सीईओ सुसन वोजिकीले सर्जकहरुलाई यूट्युबको २०२२ को प्राथमिकताका बारेमा पत्र लेख्दै कम्पनीले आफ्ना सर्जकहरु डिजिटल संग्रहबाट लाभान्वित हुन सक्छन् भन्नेबारेमा अध्ययन गरिरहेको जानकारी दिएकी हुन्।

बीबीसीका अनुसार उक्त पत्रमा वोजिकीले क्रिप्टो पारखीहरुले ब्लकचेनमा आधारित प्रविधिलाई भन्ने गरेको वेब३ शब्दावली प्रयोग गर्दै यो इन्टरनेटको नयाँ युगमा कम्पनीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन्।

उनले यूट्युबले एनएफटीलाई आफ्नो प्लेटफर्ममा कसरी एकीकृत गर्नेछ भन्नेबारेमा प्रस्ट रुपमा नभने पनि उक्त प्रविधि सर्जकहरुका लागि आम्दानीको नयाँ स्रोत हुने बताइन्।

विगत वर्षमा क्रिप्टोको दुनियाँमा एनएफटी तथा विकेन्द्रिकृत स्वायत्त संस्था डीएओहरुले यसअघि कल्पना नै नगरिएको अवसरलाई सर्जक र फ्यानबीचको सम्बन्ध मजबुत बनाउनका लागि प्राथमिकतामा राखेको उनले पत्रमा उल्लेख गरेकी छिन्।

‘हामीहरु सधैं सर्जक तथा फ्यानहरुको यूट्युबमा रहेको अनुभवलाई बढाउँदै र मजबुत बनाउँदै सर्जकले एनएफटीजस्ता उदीयमान प्रविधिबाट कसरी लाभान्वित हुन सक्छ भन्नेबारेमा केन्द्रित हुन्छाैं’,  उनले लेखेकी छिन्।

यदि यूट्युबले सिधै फ्यानहरुलाई एनएफटी बेच्न दिएमा केही वर्षयता चर्चामा रहेको तर सामाजिक सञ्जालमा सहजै स्वीकार नगरिएको प्रविधिका लागि वरदान नै सावित हुने उनको भनाई थियो।

ट्विटरले पनि हालै एनएफटीलाई प्रोफाइल पिक्चरमा राख्न सकिने व्यवस्था शुरु गरेको छ। यसबाहेक इन्स्टाग्रामले पनि एनएफटीप्रति चासो राखिरहेको फाइनान्सियल टाइम्सले लेखेको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार