
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले आफू विश्व स्मार्टफोन बजारमा डटेर अघि बढ्ने बताएको छ। गत शुक्रबार ह्वावेले आफ्नो २०२१ को पूर्वार्द्धको आम्दानीको प्रतिवेदन सार्वजनिक गर्यो।
यस अवधिमा उसको समग्र आम्दानी ४९.४ अर्ब डलर भएको थियो भने खुद नाफा ९.८ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ।
समग्रमा आफ्नो आम्दानीमा २९.४३ प्रतिशतले गिरावट आए पनि कम्पनीले आफ्ना सबै सञ्चालन नतिजा सही ठाउँमा रहेको बताएको छ।
ह्वावेका तीन मुख्य व्यापारमध्ये अपरेटर बिजनेसको आम्दानी २१.१ अर्ब, कर्पोरेट व्यापारमो ६.६ अर्ब तथा उपभोक्ता व्यापारको आम्दानी २०.९ अर्ब डलर रहेको तथ्याङ्क छ।
गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा ह्वावेको इन्टरप्राइज बिजनेसमा वार्षिक १८ प्रतिशतको वृद्धि भएको छ। सबैभन्दा बढी गिरावट भने उपभोक्ता व्यापारमा आएको छ।
यो वर्षको पहिलो ६ महिनामा ह्वावेको उपभोक्ता व्यापारबाट २०.९ अर्ब डलर कमाइ गरेको थियो जुन वार्षिक रुपमा ४६.९५ प्रतिशतको गिरावट हो। यसको मुख्य कारण ह्वावे स्मार्टफोनको बिक्रीमा आएको कमी रहेको बताइएको छ।
आपूर्ति श्रृङ्खलामा गडबडी आएका कारण पर्याप्त मात्रामा स्मार्टफोन उत्पादन हुन नसकेका कारण आम्दानीमा गिरावट आएको बताइएको छ। यो कम्पनी अहिनले चीनको बजारमा उत्कृष्ट पाँच स्मार्टफोन ब्रान्डमा अट्न सकेको छैन।
तर कम्पनीले हार नमान्ने र डटेर अगाडि बढ्ने बताएको छ। अमेरिकाले फाइभजी प्रविधिमा ह्वावेको उपस्थितिमा रोक लगाएकाले हालै सार्वजनिक भएको पी५० सिरिजमा पनि फोरजी कनेक्टिभिटी मात्र दिइएको छ।
प्रकाशित: २५ श्रावण २०७८, सोमबार