
काठमाडौं ।
चिनियाँ टेकक जायन्ट अलिबाबाले बलात्कार आरोप लागेका एक प्रबन्धकलाई सेवाबाट बर्खास्त गर्ने भएको छ।
अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीले भेटेको एक पत्रमा उक्त निर्णय रहेको बताइएको छ।
संस्थाका सीईओ ड्यानियल झाङले कर्मचारीहरुका नाउँमा लेखेको एउटा चिठीमा एक प्रबन्धकलाई निस्कासन गर्न लागिएको र आरोप लागेका अन्य दुई वरिष्ठ कर्माचरीहरुले आफूलाई निर्दोष सावित गर्ने प्रमाण पेश गर्न नसकेकाले आफैंले राजीनामा गरेका उल्लेख गरिएको छ।
कम्पनीकी एक महिला कर्मचारीले आफू मदिराको नशामा रहेका बेला आफ्ना पुरुष हाकिमले होटलको कोठामा लगेर बलात्कार गरेको आरोप लगाएपछि अलिबाबाले प्रहरीसँग मिलेर यस विषयमा छानबिन गरिरहेको छ।
उनको यो आरोप चीनको सामाजिक सञ्जालमा निकै शेयर गरिएको छ। सीईओ झाङले बलात्कार आरोप लागेका प्रबन्धकले उक्त महिला कर्मचारी मदिराको नशामा भएको बेला एक आपसमा अन्तरंग गतिविधि भएको स्वीकार गरेका छन्।
सीईओको पत्रमा लेखिएको छ, ‘ती प्रबन्धकलाई भविष्यमा पुन: कम्पनीमा नियुक्त नगर्ने गरी बर्खास्त गरिनेछ। उनले बलात्कार नै गरेका वा अन्य अनैतिक कार्य गरेका हुन् भन्ने कानूनले नै फैसला गर्नेछ।’
पत्रमा उक्त महिलाको वृत्तिविकासको जिम्मा कम्पनीले लिने र उनको हेरविचारमा कम्पनीले सक्नेसम्म सबै कुराहरु गर्ने प्रतिबद्धता पनि उल्लेख छ।
घटना भएको ठाउँ जिनान प्रान्तको प्रहरीले आज उक्त घटनाक्रमका बारेमा छानबिन गरिरहेको बताएको छ।
प्रकाशित: २५ श्रावण २०७८, सोमबार