राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने

  • Technology Khabar | ११ कार्तिक २०८३, बुधबार
राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले काठमाडौं उपत्यकामै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

नागरिकता हराएमा, आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा यो व्यवस्था लागू हुनेछ।

गृह मन्त्रालयको कार्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा दिन तीन जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको नागरिकता प्रमाणपत्रमा रहेको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरणसँग भिडेमा प्रतिलिपि जारी गरिनेछ।

तर अभिलेख नभेटिएमा वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याउनुपर्ने भएमा सम्बन्धित नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्नुपर्नेछ।

त्यस्तै पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता प्रमाणपत्रका हकमा पनि प्रतिलिपिका लागि नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...