सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी

  • Technology Khabar | ११ कार्तिक २०८३, बुधबार
सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी

काठमाडौं ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले Node.js Runtime मा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि सरकारी निकाय तथा प्रणाली सञ्चालकलाई सुरक्षा अद्यावधिक गर्न आग्रह गरेको छ।

केन्द्रले २०८३ आज कात्तिक ११ गते एक साइबर सुरक्षा एडभाइजरी जारी गर्दै (NCSC-1146-115-05) मा Node2Shell (CVE-2026-111497) लगायतका सुरक्षा कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने र प्रणालीमा चलिरहेका कार्यमाथि अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम औँल्याएको हो।

केन्द्रले जोखिमबाट बच्न सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेसनमा प्रयोग भएको Node.js Runtime को संस्करण जाँच गरी तोकिएका संस्करणमा अद्यावधिक गर्न अनुरोध गरेको छ।

एडभाइजरीअनुसार Node.js को २६.x संस्करण प्रयोग गरिरहेका प्रणालीलाई २६.१२.१ वा सोभन्दा नयाँ, २४.x संस्करणलाई २४.२२.१ वा सोभन्दा नयाँ तथा २२.x संस्करणलाई २२.२३.४ वा सोभन्दा नयाँ संस्करणमा अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, Node.js २५.x, २३.x, २०.x, १८.x वा त्यसभन्दा पुराना संस्करण प्रयोग भइरहेका प्रणालीले सुरक्षा अद्यावधिक प्राप्त नगर्ने भएकाले समर्थित संस्करणमा स्थानान्तरण गर्नुपर्ने केन्द्रले जनाएको छ। यस्तो स्थानान्तरण गर्नुअघि सम्बन्धित प्रणालीसँग नयाँ संस्करणको अनुकूलता परीक्षण गर्न पनि एडभाइजरीमा सुझाव दिइएको छ।

Node.js वेब सर्भर, एपीआई तथा विभिन्न वेब एप्लिकेसन सञ्चालनमा प्रयोग हुने सफ्टवेयर हो। यसमा देखिएको सुरक्षा कमजोरीले विशेषगरी जोखिमयुक्त डाटा प्रशोधन गर्ने प्रणालीलाई असर गर्न सक्छ।

अन्तर्राष्ट्रिय सुरक्षा सूचनाअनुसार Node2Shell कमजोरीले आक्रमणकारीले तयार पारेको खराब Brotli कम्प्रेस्ड डाटा प्रशोधन गर्ने प्रणालीमा गम्भीर असर पार्न सक्छ। यसको सम्भावित प्रभावमा प्रणाली बन्द हुनेदेखि अनधिकृत कोड सञ्चालनसम्म पर्न सक्छ।

केन्द्रले सम्बन्धित निकाय तथा प्रणाली सञ्चालकलाई प्रयोगमा रहेका संस्करणको पहिचान गरी आवश्यक सुरक्षा उपाय तत्काल अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार