सूचना प्रविधि केन्द्रमा आएको प्राविधिक समस्याले सरकारी कार्यालयका अटोमेसन सिस्टम दिनभर बन्द

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार
सूचना प्रविधि केन्द्रमा आएको प्राविधिक समस्याले सरकारी कार्यालयका अटोमेसन सिस्टम दिनभर बन्द

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको अटोमेसन सिस्टम डाउन भएको छ। सरकारी निकायहरुको डाटा राख्ने तथा प्राविधिक व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रको ब्याकअप र नेटवर्कमा समस्या देखिँदा सम्पूर्ण सरकारी निकायहरुसहित दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको सेवासमेत प्रभावित भएको छ।

बिगत सातादेखि नै सिस्टममा समस्या आउँदा सजहरुपमा काम गर्न नसकिएको र त्यसले ग्राहक सेवा समेत प्रभावित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

‘आज भने सिस्टम पूर्णरुपमा बन्द हुँदा काम गर्न सकिएको छैन् । बिगत सातादेखि नै समस्या भएको छ,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।

यसअघि देखि नै सूचना प्रविधि केन्द्रको सिस्टमले काम गर्न नसक्दा सम्पूर्ण सरकारी निकायका वेबसाइटहरुका साथै आन्तरिक सिस्टम पनि प्रभावित भएका थिए ।

अध्यक्ष खनालले सूचना प्रविधि केन्द्रमा प्राधिकरणको सम्पूर्ण डाटा र ब्याकअप राखिएको र त्यसमा समस्या आएको हुँदा काम गर्न कठिन भएको गुनासो गरे ।

‘केन्द्रको सिस्टममा पटक पटक समस्या आउँदा हाम्रो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) समेत समस्यामा परेको छ । यसअघि पनि केन्द्रका कारण आईएमईआई दर्ता प्रणाली नै बन्द गर्नुपरेको थियो तर गाली भने हामीले खायौं,’ उनले भने ।

अझैपनि कतिपय निकायका अनलाइन दर्ता प्रणाली नै संचालन हुनसकेका छैनन् ।

केन्द्रलाई मातहतमा राख्ने र सरकारको सूचना प्रविधि क्षेत्रको मुख्य निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै कार्य प्रभावित भएको बताईएको छ। ‘आज हाम्रो सिस्टममा समेत समस्या देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

केन्द्रमा समस्या हुँदा अधिकांश सरकारी निकायका दर्ता चलानी र अटोमेसन भएका सेवाहरु आज दिनभर ठप्प भएका थिए ।

उता केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले भने केन्द्रको समस्या नभई सूचना प्रविधि विभागले राखेको क्लाउड सर्भरको कारणले समस्या आएको दाबी गरे ।

‘आज हाम्रो कारणले कुनै समस्या आएको छैन् । विभागले नयाँ क्लाउड सर्भर समन्वय नगरी राख्दा क्षमता भन्दा धेरै पावर लिएको हुँदा सेवाहरु प्रभावित भएका हुन्,’ पोखरेलले भने ।

उनले हाल सो नयाँ सर्भरलाई छुट्याईएको र पावर व्यवस्थापन गरिएको हुँदा सेवा पुन सञ्चालनमा आएको बताए ।

‘अहिले कोभिडको कारण अनलाइन सेवा दिनका लागि सरकारी निकायहरुको माग अत्यधिक बढेको छ तर केन्द्रको क्षमता बिस्तार हुन सकेको छैन् । नयाँ उच्च क्षमता डिभाइसहरु राख्ने क्रम बढेसँगै समस्या आउने गरेको छ,’ पोखरेलले स्पष्ट पारे ।

उनले प्राधिकरणको एमडिएमएसको सिस्टममा भने कुनै समस्या नदेखिएको र त्यसलाई यसअघि नै मिलाई सकिएको जिकिर गरे।

‘अटोमेसनमा प्राधिकरणले डिजिटल सिग्नेचर प्रयोग गरेको तर सो सिग्नेचर क्लाउडमा भएको हुँदा विभागको क्लाउडमा भएका सबै सेवाहरु प्रभावित भएका हुन्,’ पोखरेलको दाबी छ।

यो पनि हेर्नुस्-

सरकारी वेबसाइटहरु खोल्नै कठिन, समस्या पहिचान गरिसकेको सूचना प्रविधि केन्द्रको भनाई

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...