
काठमाडौं ।
खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्विटर एकाउन्ट बनाई अनावश्यक विषयहरु ट्वीट गरिएको भन्दै मन्त्रीको सचिवालयले भ्रमित नहुन भनेको छ ।
मन्त्रीका निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा सो ट्विटर एकाउन्ट नक्कली भएको भन्दै भ्रमित नहुन भनिएको छ।
‘ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउन्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुरोध गरिएको छ,’ मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ।
बिगत केहि दिनदेखि खानेपानी मन्त्री बिना मगरको नामबाट @Magarbina123 ट्विटर ह्यान्डलमार्फत विभिन्न विषयहरुको बारेमा ट्वीट गरिएको थियो ।
उक्त नक्कली ट्विटर एकाउन्टमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गरिएको छ ।
त्यसैगरि मन्त्री मगरले पनि आफ्नो फेसबुकबाट सो ट्विटर एकाउन्ट नक्कली भएको जानकारी दिएकी छिन् ।
प्रकाशित: १ पुष २०७७, बुधबार