काठमाडौं ।
नेदरल्यान्ड्सका ठूलो चस्मा खुद्रा विक्रेता शृंखलामध्ये एक हान्स एन्डर्सले गोपनीयताको चिन्ता बढ्दै गएपछि नेदरल्यान्ड्स र बेल्जियममा मेटाका रे-ब्यान स्मार्ट चस्माको बिक्री रोकेको जनाएको छ। खुद्रा विक्रेताले यस्तो कदम चालेको यो पहिलो घटनामध्ये एक हो।
“स्मार्ट चस्माका विषयमा जारी सार्वजनिक र राजनीतिक बहस तथा यो प्रविधि प्रयोग गर्न सकिने अवस्थाबारे उठिरहेका प्रश्नका कारण यो निर्णय गरिएको हो,” हान्स एन्डर्सका प्रवक्ताले शुक्रबार बताए। क्यामेरा जडित स्मार्ट चस्माविरुद्ध नेदरल्यान्ड्समा बढिरहेको असन्तोषले यस्ता उपकरणविरुद्ध विश्वव्यापी रूपमा बढिरहेको विरोधलाई प्रतिबिम्बित गरेको छ।
रोयटर्सका अनुसार बेलायतमा पब शृंखला वेदरस्पुन्सले लुकीछिपी रेकर्ड गर्न सकिने चिन्ताका कारण मेटाका चस्माको प्रयोगमा प्रतिबन्ध लगाएको छ। यस्तै, मेटा र लक्सोटिका विरुद्ध अमेरिकामा दायर मुद्दामा चस्माबाट खिचिएका भिडियोहरूमा खिचिएका व्यक्तिको जानकारीबिना मानव सामग्री समीक्षकहरूले पहुँच गरेको आरोप लगाइएको छ।
मेटाका प्रवक्ताले कम्पनीले लोकप्रिय चस्माको विकास जारी राखेको बताए। उनका अनुसार क्यामेरा भएको प्रत्येक चस्माको अगाडि फोटो वा भिडियो खिच्दा बल्ने चम्किलो बत्ती हुन्छ। उक्त बत्ती बन्द गर्न सकिँदैन र कसैले क्यामेरा छोपे वा त्यसमा हस्तक्षेप गरेमा क्यामेरा निष्क्रिय हुन्छ।
नेदरल्यान्ड्सको गोपनीयता नियामक एपीले गत महिना स्मार्ट चस्माबाट खिचिएका भिडियोमा पहिचान गर्न सकिने व्यक्तिहरू देखिएमा उनीहरूको अनुमतिबिना त्यस्ता भिडियो सामान्यतया सार्वजनिक वा प्रकाशित गर्न नमिल्ने चेतावनी दिएको थियो। सार्वजनिक स्थानमा यस्तो अनुमति लिन कठिन हुने नियामकले जनाएको थियो।
उपभोक्ता अधिकार समूह कन्सुमेन्टेनबोन्डले यसै साता मेटाले गोपनीयता कानुनअनुसार चस्मामा परिवर्तन नगरे अदालत जाने बताएको छ।
अनलाइन दुर्व्यवहारविरुद्ध काम गर्ने समूह अफलिमिट्सले पनि शुक्रबार मेटा र रे-ब्यानको मालिक एसिलोरलक्सोटिकालाई लुकीछिपी रेकर्ड गर्न असम्भव बनाउने उपाय नपत्ता लागेसम्म चस्माको बिक्री स्वेच्छिक रूपमा रोक्न आग्रह गरेको छ। एसिलोरलक्सोटिकासँग तत्काल प्रतिक्रिया लिन सकिएन।
हान्स एन्डर्स निजी इक्विटी कम्पनी केकेआरको स्वामित्वमा रहेको नेक्सआईको सहायक कम्पनी हो। नेक्सआईले नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी, अस्ट्रिया र स्विडेनमा ७७६ वटा स्टोर सञ्चालन गर्छ। यीमध्ये पछिल्ला तीन देशमा भने कम्पनीले मेटाका चस्मा बिक्री गर्दैन।
प्रकाशित: २० आश्विन २०८३, मंगलवार