काठमाडौं ।
नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्तालाई आफ्नो वाई-फाई पासवर्ड समय–समयमा परिवर्तन गर्न सुझाव दिएको छ। कम्पनीका अनुसार सुरक्षित इन्टरनेट प्रयोगका लागि वाई-फाई पासवर्ड सुरक्षित राख्नु आवश्यक छ।
कमजोर पासवर्डका कारण नेटवर्कमा अनधिकृत पहुँच हुन सक्ने भएकाले पासवर्ड परिवर्तन गर्न नेपाल टेलिकमले आग्रह गरेको हो।
नेपाल टेलिकमका अनुसार वाई-फाई पासवर्ड परिवर्तन गर्दा नेटवर्कमा अनावश्यक वा अपरिचित डिभाइसको पहुँच रोक्न, डाटा चोरी तथा ह्याकिङको जोखिम घटाउन र पुरानो वा लिक भएको पासवर्डबाट हुन सक्ने जोखिम कम गर्न मद्दत पुग्छ। नियमित रूपमा पासवर्ड परिवर्तन गर्नु पनि नेटवर्क सुरक्षाको अभ्यासका रूपमा लिन सकिन्छ।
नेपाल टेलिकमको फटीटीएच सेवा प्रयोग गर्नेले यसरी परिवर्तन गर्नूस्
कम्पनीका अनुसार अन्य वाई-फाई झैं नेपाल टेलिकमको फटीटीएच सेवा प्रयोग गर्ने ग्राहकले एनटी एपबाटै वाई-फाई पासवर्ड परिवर्तन गर्न सक्छन्।
त्यसका लागि पहिले एनटी एप खोलेर फटीटीएच ड्याशबोर्ड मा जानुपर्छ। त्यसपछि सेटिङ्समा क्लिक गरी वाई-फाई पासवर्ड र अपडेट पासवर्ड विकल्प छान्नुपर्छ।
त्यसपछि नयाँ पासवर्ड राखेर कन्फर्म गर्न सकिन्छ। यदि एनटी एपमा फटीटीएच सेवा पहिले नै लिंक गरिएको छैन भने सेवा एपमा गएर लिंक गर्न सकिन्छ। लिंक गरिसकेपछि एनटी एपबाटै फटीटीएच ड्याशबोर्डमा प्रवेश गर्न सकिनेछ।
नेपाल टेलिकमले फटीटीएच सेवा प्रयोगकर्तालाई बलियो पासवर्ड बनाउन पनि सुझाव दिएको छ। पासवर्डमा अंग्रेजीका ठूला र साना अक्षर, अंक तथा विशेष चिन्हको संयोजन प्रयोग गर्न र कम्तीमा १२ अक्षर लामो पासवर्ड बनाउन कम्पनीले आग्रह गरेको छ। सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग नगर्न पनि सुझाव दिइएको छ।
वाई-फाई पासवर्ड परिवर्तन गरेपछि पहिले जोडिएका डिभाइसमा नयाँ पासवर्ड राखेर पुनः नेटवर्कमा जोडिनुपर्ने हुन्छ। त्यसैले पासवर्ड परिवर्तन गर्दा घर वा कार्यालयमा प्रयोग भइरहेका आवश्यक डिभाइसहरूमा नयाँ पासवर्ड अपडेट गर्नुपर्छ।
प्रकाशित: २० आश्विन २०८३, मंगलवार