जियो प्लेटफर्मसमा प्राइभेट इक्विटी फर्म सिल्भर लेकद्धारा ५६.५६ अर्ब भारु लगानी

  • Technology Khabar | २३ बैशाख २०७७, मंगलवार
जियो प्लेटफर्मसमा प्राइभेट इक्विटी फर्म सिल्भर लेकद्धारा ५६.५६ अर्ब भारु लगानी

काठमाडौं ।

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोमा फेसबुकले लगानी गरेको एक साताभित्रै अर्को कम्पनीले पनि जियोमा लगानी गर्ने भएको छ।

भारतको प्रमुख टेलिकम कम्पनी जियोमा प्राइभेट इक्विटी फर्म सिल्भर लेकले प्रिमियम मूल्यमा शेयर किन्ने भएको छ ।

सिल्भर लेकले सोमबार जियो प्लेटफर्मसमा १.१५ प्रतिशत शेयर हिस्सा किन्नका लागि ७४ करोड ६८ लाख अमेरिकी डलर अर्थात ५६.५६ अर्ब भारु लगानी गर्ने घोषणा गरेको छ ।

नयाँ लगानीसँगै जियोको बजार मूल्य ६५ अर्ब डलर पुगेको छ भने कम्पनीले फेसबुकको लगानीको आधारमा १२.५ प्रतिशत प्रिमियम मूल्य तिरेको छ ।
अमेरिकाको मेन्लो पार्कमा मुख्यालय रहेको सो कम्पनीले विश्वभर दर्जनौं टेक कम्पनीहरुसहित अन्य क्षेत्रमा ४० अर्ब डलर बराबर लगानी गरेको छ ।

कम्पनीले भिडियो गेम इन्जिन निर्माता यूनिटी अडियो भिडियो कम्युनिकेशन सर्भिस स्काइप, परामर्शदाता कम्पनी गार्टनर, अलिबाबाको एन्ट फाइनान्सियल, कम्प्यूटर कम्पनी डेल, र चाइजिन राइड हेलिङ्ग कम्पनी डिडि चुजिङ्गमा लगानी गरिसकेको छ ।

सिल्भर लेकले गत वर्षमात्रै एक्सपेडिया, एयरबिएनबि, ट्विटर, वेमो लगायतमा लगानी गरेको थियो ।

कम्पनीले भारतीय फर्ममा लगानी गरेको यो दोस्रो पटक हो । यसअघि कम्पनीले भारतीय कमोडिटी ट्रेडिङ्ग एण्ड रिस्क म्यानेजमेन्ट सफ्टवेयर स्टार्टअप ‘एका’मा लगानी गरेको थियो ।

‘जियोले न्यून लागतका डिजिटल सर्भिसहरु आम उपभोक्ताहरु र साना व्यवसायको जनसंख्यामा ल्याउन असाधारण इन्जिनियरिङ्ग क्षमताहरु ल्याएको थियो,’ सिल्भर लेकका को चिफ एक्जुकेटिभ तथा म्यानेजिङ्ग पार्टनर एगोन डुर्बानले स्टेटमेन्टमा भने ।

तर जियो प्लेटफर्मसले सिल्भर लेकलाई कुन वर्गको शेयर बिक्री गरेको भन्ने स्पष्ट छैन् । एजेन्सी

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...