Technology Khabar २१ बैशाख २०७७, आईतवार
काठमाडौं ।
भारतमा कोरोना भाइरसको बढ्दो घटनालाई ध्यानमा राख्दै लकडाउन अवधि दुई हप्ता थप गरिएको छ। लकडाउन अवधि विस्तार भएपछि सरकारले अब सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरूका लागि कन्ट्याक्ट ट्र्याकिङ्ग एप आरोग्य सेतु प्रयोग गर्न अनिवार्य बनाएको छ।
सरकारी यो निर्णयसँग सो एप राजनीतिक बिबादमा तानिएको छ।
एकातिर, भारतको केन्द्र सरकारले आरोग्य सेतु एप प्रयोगलाई विस्तार गर्दैछ। अर्कोतर्फ, विपक्षी दल कांग्रेस अध्यक्ष राहुल गान्धीले आरोग्य सेतु एपको बारेमा प्रश्न उठाएका छन्। उनले सो एप मानिसहरुको जासुसी गर्न ल्याईएको आरोप लगाएका छन् । त्यसबारेमा उनले ट्विटरमा लेखेसँगै सो एप राजनीतिक बिबादमा तानिएको हो ।
राहुल गान्धीले ट्वीट गरे, ‘आरोग्य सेतु एप एक परिष्कृत निगरानी प्रणाली हो जुन निजी अपरेटरले संस्थागत निरीक्षण बिना नै आउटसोर्स गर्दछ।
उनले लेखे, यस एपको बारेमा महत्वपूर्ण डाटा सुरक्षा र गोपनीयता बारे चिन्ताहरू छन्। टेक्नोलोजीले हामीलाई सुरक्षित राख्न मद्दत गर्न सक्दछ, तर प्रयोगकर्ताको सहमति बिना नागरिकको ट्र्याक गर्नु हुँदैन। भयको नाममा फाईदा उठाउनु गलत हो।
भारतको सरकारले तयार पारेको आरोग्य सेतु एपको विश्वभरमा चर्चा भइरहेको छ। आरोग्य सेतु एपको उद्देश्य कोरोना भाइरस (कोविड-१९) को श्रृंखला तोड्न प्रभावकारी प्रयोग सुनिश्चित गर्नु हो। यो एप गुगल प्ले स्टोरबाट अहिलेसम्म ५ करोड भन्दा बढी पटक डाउनलोड गरिएको छ।
यस एपलाई निजी र सार्वजनिक क्षेत्रका सबै कर्मचारीहरूका लागि अनिवार्य बनाउन गृह मन्त्रालयले पनि निर्देशनहरू दिएको छ। एजेन्सी
प्रकाशित: २१ बैशाख २०७७, आईतवार