
काठमाडौं ।
नेपाल प्रहरीले कोभिड १९ सम्बन्धी जानकारी तथा सूचना संकलनका लागि आफ्नो मोबाइल एप प्रयोग गर्ने भएको छ । प्रहरीले आफ्नो नेपाल पुलिस (Nepal Police) एपमा नै थप सुविधा राख्दै कोभिड १९ को बारेमा सर्बसाधारणबाट सूचना तथा जानकारी संकलन गर्न लागेको हो ।
प्रहरीले सो एपमा रिपोर्ट गर्नका लागि आफ्नो स्मार्टफोनमा नेपाल पुलिस एप डाउनलोड गर्नुपर्ने हुन्छ भने त्यसमा आफ्नो बिबरणहरु दर्ता गरि प्रयोग गर्न सकिन्छ ।
नेपाल प्रहरीकाअनुसार सो एपमार्फत लकडाउन उलंघन भएको अवस्था, लकडाउनको अवस्थामा कालोबजारी भएमा, आफू वा छरछिमेकमा कसैलाई कोभिड १९ को लक्षण देखिएमा, लकडाउनले आफू कुनै ठाउँमा समस्यामा परेको अवस्थामा रिपोर्ट गर्न सकिने छ ।
प्रहरीको सो एपमार्फत प्रयोगकर्ताले तस्वीर, अडियो वा भिडियो प्रयोग गरेर पनि सूचना तथा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
यो मोबाइल एप गूगल प्ले स्टोर र एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ ।
प्रकाशित: २० चैत्र २०७६, बिहीबार