काठमाडौं ।
माइक्रोसफ्टका संस्थापक तथा हालका बोर्ड सदस्य बिल गेट्सले माइक्रोसफ्टको बोर्ड सदस्य छोडेका छन् । यसका साथै विश्वकै धनीमध्येका एक गेट्सले बर्कशायर हाथवेको बोर्ड सदस्य पनि छोडेका छन् ।
माइक्रोसफ्टले शुक्रबार सो बारेमा विज्ञप्ति जारी गर्दै ६४ वर्षिय सह संस्थापकले आफ्नो परोपकारी प्राथमिकताहरुमा अधिक समय व्यतित गर्न बोर्ड सदस्य त्यागेको जानकारी दिएको छ ।
‘बिलका साथमा वर्षौसम्म काम गर्न र सिक्न पाउनु गर्वको विषय र प्राथमिकताको कार्य हो,’ माइक्रोसफ्टका सिईओ सत्य नडेलाले विज्ञप्तिमा भनेका छन् ।
बिल गेट्सले माइक्रोसफ्टको बोर्ड सदस्य त्यागेपनि उनी सिईओ नडेलासहित कम्पनीका अन्य प्रमुखहरुको प्राविधिक सल्लाहकारको रुपमा सेवा गर्नेछन् ।
त्यसैगरि गेट्सले वर्कशायर हाथवेको बोर्ड पनि छोडेका छन् । उनको स्थानमा अब अमेरिकन एक्सप्रेसका पूर्व सिईओ केनेथ चेनौल्टले का मगर्नेछन् । गेट्स सन् २००२ देखि बर्कशायरमा बोर्ड सदस्य थिए ।
वर्कशायरको बोर्डमा सहभागी हुने चेनौल्टले फेसबुकको बोर्ड निर्देशक पद छोडेका छन् ।
गेट्सले सन् ८० को दशकदेखि सन् २००८ सम्म माइक्रोसफ्टलाई नेतृत्व प्रदान गरेका थिए । उनले सन् २०१४ सम्म कम्पनीको चेयरको रुपमा काम गरेका थिए ।
गेट्सले परोपकारी कामगर्न बिल एण्ड मेलिन्डा फाउण्डेसन स्थापना गरेका थिए । सो संस्थाले गरिबी निवारण र बालबालिकाको स्वास्थ्यलगायतका विभिन्न मानविय क्षेत्रमा काम गर्दै आएको छ ।
प्रकाशित: १ चैत्र २०७६, शनिबार