काठमाडौं ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले कृत्रिम बुद्धिमता (एआई) को तत्काल नियमन गर्नुपर्ने बताएका छन्। उनका अनुसार दूध र वासिङ मेसिनजस्ता उपभोक्ता सामग्रीमा समेत एआई विकास गर्ने कम्पनीहरूको तुलनामा बढी निगरानी हुने गरेको छ।
हालै बीबीसीको एक पोडकास्टमा स्मिथले एआईलाई “हतियार र औजार” दुवैको संज्ञा दिँदै यसले विश्वको साइबर सुरक्षामा जोखिम बढाइरहेको बताए। उनले विश्वव्यापी सुरक्षा नियम लागू गर्ने समय आइसकेको पनि बताए।
स्मिथले अमेरिका वा युरोपेली संघको सट्टा बेलायत विश्वव्यापी एआई सुरक्षा नियमको नेतृत्व गर्न सबैभन्दा उपयुक्त रहेको बताए। सन् २०२३ मा स्थापना भएको बेलायतको एआई सेक्युरिटी इन्स्टिच्युट (एआईएसआई) ले अमेरिकी अग्रणी एआई प्रयोगशालाहरूका प्रमुख मोडेल सार्वजनिक रूपमा प्रयोगमा ल्याउनुअघि नै तिनमा पहुँच पाउँछ। यो संस्थाले छोटो समयमै एआई सुरक्षा परीक्षणको क्षेत्रमा अग्रणी भूमिका बनाएको छ।
तर पछिल्ला केही सातामा यो भूमिकामाथि चुनौती देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूको काममा हस्तक्षेप गरिरहेको दाबी गर्दै “विश्वव्यापीवादी” संस्थाहरूको आलोचना गरेका छन्।
गत महिना उनले एन्थ्रोपिक र ओपनएआईलाई बेलायती परीक्षकहरूलाई नयाँ मोडेल उपलब्ध नगराउन आग्रह गरेको खबर सार्वजनिक भएको थियो। तर एआईएसआईले सोमबार आफूले पछिल्ला मोडेलहरूमा पहुँच पाउन र तिनको परीक्षण गर्न सकिरहेको पुष्टि गरेको छ।
टेकक्रञ्चका अनुसार ट्रम्पको विरोधका बाबजुद स्मिथले अमेरिकाले गर्न नसक्ने तरिकाले बेलायतले एआई नियमन गर्न सक्ने तर्क गरेका छन्।
“वासिङ्टन डीसीमा मानिसहरूले बेलायत र लन्डनलाई ब्रसेल्सलाई हेर्ने दृष्टिकोणले हेर्दैनन्,” उनले बीबीसीसँग भने, “यो एउटा बलियो पक्ष हो।”
उनको यो भनाइ एआई विकासको गति सुस्त बनाउनुपर्ने माग प्रविधि क्षेत्रका नेताहरूबाट आइरहेका बेला आएको हो। एन्थ्रोपिकका डारियो अमोडेई र ओपनएआईका साम अल्टम्यानले समेत एआई एजेन्टहरूले नियन्त्रणबाहिर गएर काम गरेका विभिन्न घटनापछि यसको विकासको गति सुस्त बनाउनुपर्ने बताएका छन्।
गत महिना ट्रम्पले ओपनएआई, एन्थ्रोपिक, एनभिडिया, एएमडी, स्पेसएक्स, मेटा र गुगललगायत कम्पनीका प्रविधि क्षेत्रका नेताहरूलाई ह्वाइट हाउसमा बोलाएर एआई सुरक्षाबारे छलफल गरेका थिए।
उनीहरूले आफ्ना एआई मोडेलको सुरक्षा र क्षमताको मूल्याङ्कन गर्न “स्वतन्त्र लेखापरीक्षकहरू” सँग सहकार्य गर्ने सहमति जनाउँदै नैतिक रूपमा बाध्यकारी भनिएको दस्तावेजमा हस्ताक्षर गरेका थिए।
स्मिथले उक्त दस्तावेजलाई “राम्रो कदम” भने पनि आवश्यक नियमनका लागि यो पर्याप्त नभएको बताए। स्वैच्छिक रूपमा आफ्नै नियमन गर्ने व्यवस्थाको समस्या भनेको “राम्रो कम्पनीहरू” ले मात्र त्यसको पालना गर्ने सम्भावना रहेको उनले बताए।
“तपाईंले चिन्ता गर्नुपर्ने त कम जिम्मेवार कम्पनीहरूबारे हो,” उनले भने।
स्मिथले एआई सुरक्षाका लागि लागू गर्नुपर्ने विभिन्न नियमबारे पनि बताएका छन्। उनका अनुसार एआई एजेन्टहरू नियन्त्रणबाहिर गएर कुनै संस्थाको प्रणालीमा प्रवेश गरेमा त्यसबारे जानकारी दिनुपर्ने कानुनी दायित्व हुनुपर्छ। एआई उत्पादन सार्वजनिक गर्नुअघि बाह्य मूल्याङ्कनकर्ताबाट स्वीकृति लिनुपर्ने व्यवस्थाप्रति पनि उनी सकारात्मक देखिएका छन्। त्यस्तै, मानिसले एआईमाथिको नियन्त्रण गुमाएमा त्यसलाई रोक्न वा यसको गति घटाउन प्रयोग गर्न सकिने ‘किल स्विच’ को व्यवस्थाबारे पनि उनले सकारात्मक धारणा राखेका छन्।
“हामीले शान्त भएर, सम्भव भए नरम स्वरमा तर दृढताका साथ कुरा गर्न र मानिसहरूलाई एकै ठाउँमा ल्याउन सुरु गर्नुपर्छ,” स्मिथले भने, “कम्पनीका रूपमा हामीले यस्तो भूमिका खेल्न सकौँ भन्ने मेरो आशा छ। देशका रूपमा बेलायतले पनि यस्तो भूमिका खेल्न सकोस् भन्ने मेरो आशा छ।”
प्रकाशित: २९ आश्विन २०८३, बिहीबार