
काठमाडौं ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने विद्युतिय कार्ड (डेबिट वा क्रेडिट कार्ड) प्रयोग गरेर पोईन्ट अफ सेल (पीओएस) मार्फत कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै पीओएस मेशिनमार्फत कारोबार गर्दा अबदेखि अतिरिक्त शुल्क नलाग्ने जानकारी गराएको हो ।
यसअघि होटल, सपिङ मल, पसल, डिपार्टमेन्टल स्टोर, मार्ट, पसल लगायतका स्थानमा पीओएसमार्फत कारोवार गर्दा कतिपय यस्ता संस्थाहरुले सेवाग्राहीलाई अतिरिक्त शुल्क लगाउँदै आएका थिए । अब भने यसमा कडाई गर्दै राष्ट्र बैंकले नै अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था गरेको हो ।
यदि मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएको पाईएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारि गर्ने सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
यसैबिच राष्ट्र बैंकले भुक्तानी सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त संस्थालाई पनि निर्देशन जारी गर्दै ग्राहकसँग पिओएस मसिनमार्फत गरिएको कारोबारमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउन भनेको छ ।
त्यसैगरि बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुले राष्ट्र बैंकबाट तोकिएको ढाँचामा विद्युतीय माध्यमबाट हुने कारोबारको अनलाइन रिपोर्टिंग गर्नुपर्ने छ ।
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार