तीन महिनामै एक अर्ब डलर मूल्यांकनमा पुग्यो साइबर सुरक्षा स्टार्टअप कोर्मा
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित साइबर सुरक्षा स्टार्टअप कोर्माले उत्पादन सार्वजनिक गरेको करिब तीन महिनामै एक अर्ब अमेरिकी डलरको मूल्यांकन प्राप्त गरेको छ।
कम्पनीले १२ करोड ५० लाख अमेरिकी डलरको सिरिज ए लगानी जुटाएको घोषणा गरेको छ। Pg@PNEA को नेतृत्वमा भएको उक्त लगानीपछि कम्पनीको मूल्यांकन एक अर्ब डलर पुगेको हो।
यससँगै कोर्माले विभिन्न लगानीकर्ताबाट हालसम्म कुल १८ करोड ५० लाख डलर जुटाएको छ। यसका लगानीकर्तामा सेकोइया क्यापिटल, खोस्ला भेन्चर्स र कोट्यू लगायत रहेका छन्।
कोर्माले साइबर सुरक्षा प्रणालीको प्रतिरक्षाका लागि विशेष रूपमा तालिम दिइएका एआई मोडल र एजेन्ट विकास गर्दै आएको छ। कम्पनी अगस्टमा सार्वजनिक रूपमा सञ्चालनमा आएको थियो।
अक्टोबर २१ मा विभिन्न प्रविधिमा एकपछि अर्को सुरक्षा कमजोरी र साइबर आक्रमणसम्बन्धी घटना सार्वजनिक भएपछि कोर्माको उत्पादनप्रति चासो तीव्र रूपमा बढेको कम्पनीले जनाएको छ।
टेलिकम्स डटकमका अनुसार त्यस दिन लोकप्रिय वेब प्रोग्रामिङ भाषा पीएचपी मा गम्भीर सुरक्षा कमजोरी फेला परेको थियो। त्यसैगरी, ओपन सोर्स जाभास्क्रिप्ट रनटाइम वातावरण नोड जेएसमा पनि सुरक्षा कमजोरी भेटिएको थियो। विभिन्न ठूला भाषा मोडल प्रदायकका सेवाबीच अनुरोध पठाउन प्रयोग हुने लोकप्रिय ओपन सोर्स उपकरण लाइटएलएलएम ले समेत सुरक्षा घटना सार्वजनिक गरेको थियो।
यी घटनाले एआई प्रविधिको विस्तारसँगै साइबर सुरक्षामा देखिएका चुनौती र त्यसको प्रतिरक्षाका लागि नयाँ प्रविधिको आवश्यकता उजागर गरेको थियो।
एआई प्रयोग गरेर साइबर सुरक्षा प्रतिरक्षा गर्ने क्षेत्रमा कोर्मा एक्लो कम्पनी भने होइन। केभिन म्यान्डियाको नयाँ स्टार्टअप आर्माडिन तथा एन्थ्रोपिक, ओपनएआई र माइक्रोिफ्टजस्ता स्थापित कम्पनी पनि यस क्षेत्रमा सक्रिय छन्।
कोर्माले आफूलाई अन्य प्रतिस्पर्धीभन्दा फरक रूपमा साइबर सुरक्षा संरक्षणमा केन्द्रित फ्रन्टियर एआई अनुसन्धान प्रयोगशालाका रूपमा प्रस्तुत गरेको छ। एआईका कारण साइबर जोखिमको स्वरूप परिवर्तन भइरहेका बेला यस्तो प्रविधिमा आधारित सुरक्षा बजार अझै प्रारम्भिक चरणमा रहेको र यसको आवश्यकता बढ्दै गएको कम्पनीको भनाइ छ।