एआई एजेन्टले एपीआई की चोरी गरेर एक महिना साइबर अपराध अभियान चलाएको अमेजनको खुलासा
काठमाडौं ।
ह्याकरहरूले लाइटएलएलएम र डिफाईजस्ता इन्टरनेटमा खुला रहेका एआई एपबाट एपीआई की चोरी गर्न एआई एजेन्ट प्रयोग गरेको अमेजनले जनाएको छ।
चोरी गरिएका की प्रयोग गरेर उनीहरूले आफ्नो परिचयसम्बन्धी विवरण खोज्ने अभियानलाई निरन्तरता दिएका थिए। अमेजनका अनुसार यी एआई एजेन्टहरू पेनिट्रेसन टेस्टिङका लागि बनाइएको खुला स्रोतको एआई उपकरण आर्टेक्समा सञ्चालन भएका थिए।
यो अभियान अक्टोबर ३ मा सुरु भएको थियो। अमेजनका अनुसार नोभेम्बर ५ मा कम्पनीको म्याडपट नामक विश्वव्यापी प्रलोभनमा आधारित साइबर जोखिम निगरानी सञ्जालले एआई एजेन्टबाट आएका अनुरोधहरू र तिनमा समावेश सञ्चालनसम्बन्धी मेमोरी अभिलेख फेला पारेपछि अभियान अवरुद्ध गरिएको थियो।
यसबाट साइबर अनुसन्धानकर्ताले पत्ता लागेका अभियान कसरी सञ्चालन भइरहेका थिए भन्ने जानकारी प्राप्त गरे।
यस घटनामा एआई एजेन्टले आफ्नै गतिविधि उजागर गर्न पनि सहयोग गरेका थिए। उनीहरूले ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न लोकप्रिय सेवाजस्ता देखिने गरी तयार पारिएका प्रलोभन प्रणालीमा अनुरोध पठाएका थिए। ती अनुरोधमा उनीहरूले सञ्चालन गरेका साइबर आक्रमण अभियानका विवरणसमेत समावेश थिए।
यी अभियान खुला स्रोतको एजेन्टमा आधारित एआई पेनिट्रेसन टेस्टिङ फ्रेमवर्क आर्टेक्समार्फत सञ्चालन भएका थिए। अमेजनले आफ्नो सुरक्षा ब्लगमा यस्तो जानकारी दिँदै सम्भावित रूपमा प्रभावित अमेजन वेब सर्भिसेज (एडब्लुएस) का ग्राहकलाई सूचित गरिसकेको जनाएको छ।
एपीआई की छिट्टै चोरी हुन सक्छन्
आक्रमणकारीले सुरक्षासम्बन्धी परीक्षणका लागि बनाइएका यस्ता उपकरणलाई आपराधिक गतिविधिमा प्रयोग गर्न सक्ने देखिएको छ। मुख्य अभियानमा एआई एजेन्टले इन्टरनेटमा खुला रहेका एआई एप खोज्ने, तिनबाट एपीआई की निकाल्ने, ती कीले काम गर्छन् कि गर्दैनन् भनेर परीक्षण गर्ने र काम गर्ने कीहरू साझा भण्डारमा जम्मा गर्ने गरेका थिए।
अमेजनका अनुसार एआई एजेन्टका अभिलेखमा उल्लेख गरिएका सयौँ लक्ष्यमा लाइटएलएलएम, वन एपीआई र भेलोएरासहितका एलएलएम गेटवे तथा प्रोक्सी प्रणाली र फास्टजीपीटी तथा डिफीजस्ता एआई एप निर्माण गर्ने प्लेटफर्म थिए।
अमेजनले भनेको छ, “आर्टेक्सको सबैभन्दा उल्लेखनीय अभियान एआई मोडेलमा पहुँच प्राप्त गर्ने प्रमाणपत्रहरूको ठूलो स्तरको चोरी थियो। यो आफैँलाई निरन्तरता दिन सक्ने गरी व्यवस्थित गरिएको अभियान थियो, जसमा चोरी गरिएका कीमार्फत थप प्रमाणपत्र खोज्न आवश्यक एलएलएम इन्फरेन्सको खर्च जुटाइन्थ्यो।”
साइबरन्युजका अनुसार अर्को अभियानमा वास्तविक समयमै डीपफेक प्रविधि प्रयोग गरेर क्रिप्टोकरेन्सी एक्सचेन्जहरूको ग्राहक पहिचान प्रमाणीकरण (केवाईसी) प्रक्रिया छल्ने प्रयास गरिएको थियो।
यद्यपि, एउटा महत्त्वपूर्ण कुरा के छ भने फेला परेका अभिलेखमा उल्लेख गरिएका सबै लक्ष्यमा साइबर आक्रमण सफल भएको थियो भन्ने छैन। अमेजनले संस्थाहरूलाई आफ्ना प्रणाली आफैँ जाँच गर्न सहयोग पुगोस् भनेर प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारेको छ।
तर यी निष्कर्ष विशेषगरी वेबसाइट, आन्तरिक उपकरण र ग्राहकले प्रयोग गर्ने एपमा एआई सुविधा समावेश गरिरहेका कम्पनीका लागि चिन्ताजनक देखिन्छन्।
यसका साथै आक्रमणकारीले अपनाएको कार्यशैली निकै व्यवस्थित देखिएको छ। उदाहरणका लागि, एउटा प्रमाणपत्र चोरी अभियानमा सञ्चालकहरूले एआई एजेन्टलाई निश्चित क्रमअनुसार विभिन्न देशका प्रणाली जाँच गर्न, व्यक्तिगत परियोजनाभन्दा संस्थागत उत्पादन प्रणालीलाई प्राथमिकता दिन र चोरी भएका प्रत्येक प्रमाणपत्रले काम गर्छ कि गर्दैन तथा त्यसबाट कुन प्रणालीमा पहुँच प्राप्त गर्न सकिन्छ भन्ने मूल्याङ्कन गर्न निर्देशन दिएका थिए।