एप्लिकेसन

हाम्रोपे र हाम्रो पात्रोका ३ लाख ७३ हजार प्रयोगकर्ताको डाटा चोरी भएको दाबी

हाम्रोपे र हाम्रो पात्रोका ३ लाख ७३ हजार प्रयोगकर्ताको डाटा चोरी भएको दाबी
Global IME Bank

नेपालको डिजिटल वालेट तथा लाइफस्टाइल एप हाम्रोपे र हाम्रो पात्रोका करिब ३ लाख ७३ हजार प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरण चोरी भएको दाबी गरिएको छ।

सामाजिक सञ्जाल एक्समा डार्क वेब इन्टेलसजेन्स नामक ह्याण्डलले एक साइबर आक्रमणकारीले प्रयोगकर्ताका व्यक्तिगत पहिचान र वित्तीय विवरण बिक्रीमा राखेको दाबी गरेको हो। बिक्रीका लागि राखिएको विवरणमा प्रयोगकर्ताको केवाईसी सम्बन्धी कागजात, जन्ममिति, मोबाइल नम्बर र इमेल ठेगाना समावेश रहेको उल्लेख छ।

दाबीअनुसार चोरी भएको भनिएको विवरणमा ८२ हजारभन्दा बढी प्रयोगकर्ताका राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर, वालेटमा रहेको मौज्दात, बैंकमा रकम जम्मा तथा झिकेको विवरण र वालेट कारोबारको रेकर्ड पनि छन्।

त्यस्तै, २७ हजारभन्दा बढी कारोबार पिन तथा पासवर्डका ह्यास, करिब दुई हजार लिंक गरिएका कार्ड नम्बर र २३ हजारभन्दा बढी राजनीतिक रूपमा प्रभावशाली व्यक्ति (पीईपी) सम्बन्धी विवरण पनि चोरी भएको भनिएको छ।

साइबर सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो विवरण वास्तविक भए प्रयोगकर्ताको वित्तीय सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्छ। विशेषगरी केवाईसी विवरणसँगै कारोबार पिनसमेत बाहिरिएको अवस्थामा प्रयोगकर्ताको खाता अनधिकृत रूपमा पहुँच गर्ने, आर्थिक ठगी गर्ने तथा पहिचान दुरुपयोग गर्ने जोखिम रहन्छ।

त्यस्तै, राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरूको विवरण सार्वजनिक भए उनीहरूलाई लक्षित गरेर ठगी वा अन्य साइबर आक्रमण हुन सक्ने जोखिम पनि रहने विश्लेषण गरिएको छ।

तर, हालसम्म यो विवरण साइबर आक्रमणकारीको दाबीमा मात्र आधारित छ। डेटा चोरी भएको विषयको स्वतन्त्र पुष्टि भएको छैन। यसबारे सम्बन्धित कम्पनीको आधिकारिक धारणा पनि उपलब्ध गराइएको छैन।

यसैले हाम्रोपे तथा हाम्रो पात्रोका प्रयोगकर्ताको डाटा वास्तवमै चोरी भएको हो वा होइन भन्ने विषय अझै पुष्टि हुन बाँकी छ।

Sajilo Visa
easy care