भोडाफोन र स्काइलोको स्याटेलाइट सेवा व्यावसायिक रूपमा उपलब्ध
काठमाडौं ।
एनटीएन न्यारोब्यान्ड इन्टरनेट अफ थिङ्स (आईओटी) स्याटेलाइट सेवाको परीक्षणपछि भोडाफोन आईओटी र स्काइलोले उक्त सेवा व्यावसायिक रूपमा उपलब्ध गराउन थालेका छन्। दुवै कम्पनीले यो सेवा विशेषगरी व्यावसायिक तथा औद्योगिक क्षेत्रका ग्राहकलाई लक्षित गरेका छन्।
बेलायत, स्पेन, इटाली र क्यानडाका ग्राहकसँग मिलेर उक्त सेवाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुर्गम क्षेत्रमा रहेका भण्डारण ट्यांकीको निगरानीदेखि माइक्रो मोबिलिटी सेवा र विद्युतीय साइकल (ई-बाइक) सम्ममा यसको प्रयोग गरिएको थियो।
यस सहकार्यमा भोडाफोन आईओटी र स्काइलोका नेटवर्क कोरलाई एकीकृत गरिएको छ। यसले गर्दा उपकरणहरूले भोडाफोनको मानक विश्वव्यापी सिम प्रयोग गरेर मोबाइल नेटवर्क र स्याटेलाइट नेटवर्कबीच स्वतः स्विच गर्न सक्छन्।
कम्पनीहरूका अनुसार यो सेवाले छुट्टै स्याटेलाइट हार्डवेयर वा विभिन्न सेवा प्रदायकको जटिल व्यवस्थापन आवश्यक नपारी नेटवर्क नपुग्ने क्षेत्रको समस्या कम गर्नेछ। स्काइलोको नेटवर्क 3GPP मापदण्डमा आधारित भएकाले स्याटेलाइट नेटवर्कलाई विद्यमान मोबाइल नेटवर्क, उपकरण र सिममा आधारित सेवासँग एकीकृत गर्न सकिन्छ।
यो सेवा भोडाफोन आईओटीको म्यानेज्ड कनेक्टिभिटी प्लेटफर्ममार्फत सञ्चालन हुनेछ। उक्त प्लेटफर्मले विश्वभर करिब २४ करोड उपकरणलाई कनेक्टिभिटी उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ। यसले मोबाइल नेटवर्क वा स्याटेलाइट नेटवर्क जुनसुकै प्रयोग गरे पनि सबै कनेक्सनलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिनेछ।
टेलिकम्स डटकमकमा अनुसार यो सेवा सम्पत्ति ट्र्याकिङ, ढुवानी तथा लजिस्टिक्स, समुद्री यातायात, कृषि, खानी र दुर्गम ऊर्जा पूर्वाधारजस्ता क्षेत्रमा लक्षित गरिएको छ।
भोडाफोनका अनुसार अब व्यवसायहरूले यो हाइब्रिड कनेक्टिभिटी मोडल प्रयोग गरेर अझ धेरै स्थानमा आफ्ना उपकरणहरू जोड्न सक्नेछन्। यसले विभिन्न देशमा निर्बाध कनेक्टिभिटी उपलब्ध गराउनेछ।
भोडाफोन आईओटीका प्रमुख कार्यकारी अधिकृत एरिक ब्रेनेसले भने, “हाम्रो मोबाइल नेटवर्क संरचनामा स्याटेलाइट कनेक्टिभिटीलाई प्रत्यक्ष एकीकृत गर्नु व्यावसायिक सञ्चालनका लागि ठूलो परिवर्तन हो। स्काइलोसँग पूर्ण व्यावसायिक सेवा सुरु गर्न पाउँदा हामी ग्राहकलाई सबै ठाउँमा उपलब्ध हुने कनेक्टिभिटी प्रदान गर्न सक्षम भएका छौँ।”
उनले थपे, “महादेशहरू पार गर्ने आपूर्ति शृंखलाको ट्र्याकिङ होस् वा पहुँच पुग्न कठिन स्थानमा रहेका उपयोगिता सेवाको निगरानी, व्यवसायहरूले आवश्यक पर्ने जुनसुकै स्थानमा निरन्तर र भरपर्दो कनेक्टिभिटीका लागि भोडाफोन आईओटीमा भरोसा गर्न सक्छन्।”
उनका अनुसार यो मोबाइल र स्याटेलाइट नेटवर्कको हाइब्रिड यात्राको सुरुवात मात्र हो। आगामी दिनमा थप देश र नेटवर्कमा थप ग्राहकलाई जोड्ने कम्पनीको योजना छ।
स्काइलोका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक पार्थसारथी त्रिवेदीले पनि भोडाफोन आईओटीका ग्राहकका लागि व्यावसायिक एनटीएन सेवा सुरु हुनुले स्याटेलाइट कनेक्टिभिटीलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने नेटवर्क नभई नियमित कनेक्टिभिटी सेवाकै हिस्सा बनाएको बताए।
उनले भने, “हामीबीचको सहकार्यले एनटीएनलाई मोबाइल नेटवर्कको सहज विस्तारका रूपमा स्थापित गरेको छ। यो मापदण्डमा आधारित छ, एउटै भोडाफोन सिममार्फत एकीकृत हुन्छ र अहिले नै वास्तविक व्यावसायिक आवश्यकता पूरा गर्न तयार छ। यही नै मानकीकृत स्याटेलाइट नेटवर्कको अवधारणा हो, जहाँ दूरसञ्चार सेवा प्रदायकहरूले स्थलमा आधारित र स्याटेलाइट नेटवर्कलाई एउटै प्रणालीका रूपमा जोड्छन्। यसले ग्राहकलाई आफ्नो कनेक्टिभिटी व्यवस्थापनमा होइन, व्यवसाय सञ्चालनमा ध्यान केन्द्रित गर्न सहयोग गर्छ।”
ओम्डियाले जुन महिनामा सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वव्यापी मोबाइल नेटवर्कमा आधारित आईओटी कनेक्सन सन् २०२६ मा ४ अर्ब ३० करोड रहेकोमा सन् २०३५ सम्ममा बढेर ५ अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ।
अध्ययनले एनबी-आईओटी, एमएमटीसी र ईरेडक्यापलाई यस बजारका प्रमुख वृद्धिका आधारका रूपमा औँल्याएको छ। यी प्रविधिले अनुमानित कुल बजारको ६५ प्रतिशत हिस्सा ओगट्ने अध्ययनमा उल्लेख छ।
अनुसन्धान संस्थाका अनुसार रेडक्यापको तुलनामा ईरेडक्याप बढी सफल हुने सम्भावना छ। रेडक्याप प्रविधिको विस्तार हालसम्म महँगो मोड्युलको मूल्य र 5G एसए नेटवर्क विस्तारको सुस्त गतिका कारण सीमित भएको अध्ययनले जनाएको छ।