ताजा समाचार

जीटीए ६ खेल्नका लागि लजिटेकले कर्मचारीहरुलाई दियो बिदा, मुख्यालयमा ‘गेम डे’ ले आयोजना गर्दै

जीटीए ६ खेल्नका लागि लजिटेकले कर्मचारीहरुलाई दियो बिदा, मुख्यालयमा ‘गेम डे’ ले आयोजना गर्दै
Global IME Bank

जीटीए ६ को रिलिजलाई गेमरहरू मात्र होइन, विभिन्न कम्पनीहरूले पनि निकै चासोका साथ हेरिरहेका छन्। वास्तवमा, धेरै संस्थाहरूलाई यो चिन्ता छ कि यो गेम सार्वजनिक हुँदा कर्मचारीहरूको उपस्थिति र कार्यक्षमतामा कस्तो असर पर्ला। तर, टेक कम्पनी ‘लजिटेक’ ले भने यसलाई अलि फरक ढंगले लिएको छ र कम्पनीले विश्वभर रहेका आफ्ना करिब ७,००० कर्मचारीहरूलाई भिडियो गेम खेल्नकै लागि एक दिनको बिदा दिने निर्णय गरेको छ। यसमा कर्मचारीहरूले आफूलाई मन पर्ने जुनसुकै गेम र दिन रोज्न सक्छन्।

लजिटेक इन्टरनेशनलकी सीईओ हानेके फेबर को विश्वास छ कि गेमिङले कर्मचारीको कार्यक्षमता र समग्र कार्यसम्पादनलाई अझ राम्रो बनाउन मद्दत गर्न सक्छ।

लजिटेकले यो पहललाई “लजी गेम डे” नाम दिएको छ। यो सुविधा पूर्णकालीन कर्मचारीदेखि इन्टर्नसम्म सबैका लागि उपलब्ध छ, जसअन्तर्गत उनीहरूले आगामी एक वर्षभित्र कुनै पनि दिन गेम खेल्नका लागि बिदा लिन सक्छन्। कर्मचारीहरूले जीटीए ६ रिलिज हुने दिनमै बिदा लिनुपर्छ भन्ने छैन; र उनीहरूले आफूलाई मन पर्ने जुनसुकै गेम खेल्न सक्ने मिडिया रिपोर्टमा भनिएको छ।

जीटीए ६ (ग्रान्ड थेफ्ट अटो ६) रिलिज हुने मिति नोभेम्बर १९ का दिन, लजिटेकले अमेरिकाको सान होजे स्थित आफ्नो मुख्यालयमा गेमिङ र लाइभ-स्ट्रिमिङ कार्यक्रमसमेत आयोजना गर्दैछ, जसका लागि कार्यालयलाई नै एउटा ‘गेमिङ लाउन्ज’ मा परिणत गरिनेछ। यस कार्यक्रममा सीईओ हानेके फेबर पनि उपस्थित हुनेछिन्। उनले जोड दिँदै भनेकी छिन् कि गेमिङलाई “समयको बर्बादी” मान्ने पुरानो सोच अब परिवर्तन हुनुपर्छ।

लजिटेकको गेमिङ ब्रान्ड, लजिटेक जी ले सन् २०२६ नोभेम्बर १९ मा ‘गेम डे’ मनाउन सान होजेस्थित आफ्नो अमेरिका मुख्यालयमा एउटा स्ट्रिमिङ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। लजिटेक जीका महाप्रबन्धक, रोबिन पिस्पानेनले यस कार्यक्रमको सञ्चालन गर्नेछन्। पहिले प्रतिस्पर्धात्मक गेमर रहिसकेका पिस्पानेन, गेमिङले टोली निर्माणमा खेल्न सक्ने भूमिकामा दृढ विश्वास राख्छन्।

गेमिङले रणनीतिक योजना बनाउने, जटिल समस्याहरू समाधान गर्ने, र दबाबका बीच पनि शान्त तथा संयमित भएर निर्णय लिने जस्ता सीपहरू विकास गर्न मद्दत गर्ने लजिटेकको धारणा छ। कम्पनीको एक अध्ययनअनुसार, ८१ प्रतिशत गेमरहरूले गेमिङले उनीहरूको आत्मविश्वास बढाउने, तनाव कम गर्ने र दैनिक कामहरूमा कार्यसम्पादन सुधार गर्ने महसुस गरेका छन्। कम्पनीकी ‘चिफ पिपल अफिसर’ इलेन लेयर्डका अनुसार, कामबाट केही समय विश्राम लिएर आफूलाई मन पर्ने गतिविधिमा संलग्न हुँदा कर्मचारीहरूमा नयाँ ऊर्जा सञ्चार हुन्छ र उनीहरू अझ बढी एकाग्रताका साथ काममा फर्कन सक्छन्।

त्यसैगरी, कम्पनीकाअनुसार अर्को एक अध्ययनले के देखाएको छ भने, उद्यम क्षेत्रका आईटी निर्णयकर्ताहरू मध्ये ९८.८ प्रतिशतले गेमिङ सीपहरू कार्यस्थलका क्षमताहरूमा प्रत्यक्ष रूपमा रूपान्तरण हुने बताएका छन; जसमा रणनीतिक सोच, जटिल समस्या समाधान, र दबाबका बीच काम गर्ने क्षमता समावेश छन्।

जीटीए ६ को रिलिजको समयमा कर्मचारीहरूले बिदा लिने कुरा अहिले चर्चाको विषय बनेको छ। एक अनुमानअनुसार, अमेरिकामा करिब १५ लाख कर्मचारीहरूले यो गेम सार्वजनिक हुने समयमा बिदा लिन सक्छन्, जसका कारण अर्थतन्त्रमा १ अर्ब डलरसम्मको उत्पादकत्व नोक्सान हुन सक्ने सम्भावना छ। यसलाई ध्यानमा राख्दै, बिदा दिनु सट्टा, लजिटेकले गेमिङलाई नै कम्पनीको एक विशेष पहलमा समावेश गरेको छ।

Sajilo Visa
easy care