खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
काठमाडौं ।
रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन्।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन्। रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो। यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए। आलमको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो।- रासस