काठमाडौं ।
र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा एकीकृत गर्न नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ।
र्यापिड टेकले आईएमएस, स्वस्तिक, सीएमटी बोस, रेस्ट्रोएक्स, सिनर्जी टेक , इन्फिकेयर, सोर्स कोड, क्रसओभर र डल्फिनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
कम्पनीका अनुसार यो साझेदारीपछि व्यवसायले आफूले प्रयोग गर्दै आएको सफ्टवेयरबाटै बैंक खाताको मौज्दात हेर्न, बैंक स्टेटमेन्ट प्राप्त गर्न र बैंक कारोबारलाई लेखा अभिलेखसँग स्वतः मिलान गर्न सक्नेछन्।
र्यापिडको एपीआईमार्फत बैंकिङ विवरणलाई ईआरपी प्रणालीमा जोड्न सकिने भएकाले वित्तीय कारोबारको अभिलेख राख्न र हिसाब मिलान गर्न लाग्ने समय घट्ने कम्पनीको अपेक्षा छ। विभिन्न बैंकमा खाता भएका व्यवसायले पनि प्रत्येक बैंकको पोर्टलमा छुट्टाछुट्टै लगइन नगरी एउटै प्रणालीबाट समग्र नगद अवस्था हेर्न सक्नेछन्।
र्यापिड टेकका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले व्यवसायको वित्तीय व्यवस्थापन सहज बनाउनु प्लेटफर्मको मुख्य उद्देश्य रहेको बताए। बैंक स्टेटमेन्ट र ईआरपीमा रहेका लेखा अभिलेख स्वतः मिलान हुँदा कारोबार जाँच्न लाग्ने समय घट्ने र वित्तीय टोलीले अन्य काममा ध्यान दिन सक्ने उनको भनाइ छ।
कम्पनीका अनुसार बैंक खातामा रहेको वास्तविक मौज्दात र तत्काल प्रयोग गर्न उपलब्ध रकमको विवरण ईआरपी प्रणालीमै उपलब्ध हुनेछ। यसले व्यवसायलाई नगद प्रवाह र ट्रेजरी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
र्यापिडले आगामी चरणमा भुक्तानी अनुरोध (रिक्वेस्ट टु पे), एपीआईमार्फत खाता खोल्ने सुविधा, प्रत्यक्ष डेबिट र मार्जिन लेन्डिङ तथा ट्रेडिङका लागि भर्चुअल खाता जस्ता सुविधा थप्ने तयारी गरेको छ।
कम्पनीले नेपालमा एम्बेडेड फाइनान्सको विस्तारलाई दीर्घकालीन लक्ष्य बनाएको छ। यस अवधारणाअन्तर्गत व्यवसाय तथा ग्राहकले दैनिक प्रयोग गर्ने डिजिटल प्लेटफर्मबाटै भुक्तानी, रकम संकलन, खाता सञ्चालन र कर्जालगायत वित्तीय सेवा लिन सक्नेछन्।
साहका अनुसार बैंकले वित्तीय सेवा उपलब्ध गराउने, व्यवसायले आफ्नै सफ्टवेयरमार्फत ती सेवा प्रयोग गर्ने र र्यापिडले दुवैलाई जोड्ने प्राविधिक पूर्वाधार उपलब्ध गराउने अवधारणामा कम्पनीले काम गरिरहेको छ।
प्रकाशित: २६ आश्विन २०८३, सोमबार