स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा फोटोकपी देखाए पुग्ने
काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई डिजिटल कार्ड वा बीमा परिचयपत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बोर्डले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमितले सेवा लिन आउँदा स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेमा सेवा उपलब्ध गराउन आग्रह गरेको हो।
बोर्डका अनुसार सेवाग्राहीले प्रस्तुत गरेको कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ। बीमित भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ।
स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्रै बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्डले सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवनकुमार साहद्वारा जारी सूचनामा डिजिटल कार्डको प्रयोगलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उल्लेख छ।