अमेजनले खुद्रा व्यवसायका सहित थप कर्मचारी कटौती गर्‍यो

  • Technology Khabar | २३ आश्विन २०८३, शुक्रबार
अमेजनले खुद्रा व्यवसायका सहित थप कर्मचारी कटौती गर्‍यो

काठमाडौं ।

अमेजनले बुधबार आफूले थोरै संख्यामा कर्मचारी कटौती गरेको पुष्टि गरेको छ। कम्पनीका अनुसार मुख्यतः यसको स्टोर्स युनिटमा कर्मचारी कटौती गरिएको हो। यही युनिटले अमेजनको मुख्य ई–कमर्स वेबसाइट सञ्चालन गर्छ।

रोयटर्सका अनुसार अमेजनको खुद्रा व्यवसायमा गरिएको यो कर्मचारी कटौती कम्पनीको सबैभन्दा ठूलो किनमेलमध्येको एक दिनसँगै भएको हो। अमेजनले यसलाई ‘प्राइम बिग डिल डेज’ भन्ने गरेको छ। मंगलबारदेखि सुरु भएको यो प्रवर्द्धन कार्यक्रम बुधबारसम्म चल्नेछ, जसमा विभिन्न सामानमा फरक–फरक छुट दिइएको छ।

गत वर्षदेखि सुरु भएर जनवरीसम्म जारी रहेको ३० हजार कर्मचारी कटौतीको ठूलो चरणपछि अमेजनले गरेको यो पछिल्लो सानो कटौती हो। त्यसयता कम्पनीले यस्ता साना कटौतीको शृंखला जारी राखेको छ। केही प्रभावित कर्मचारीले आफूहरुसँग सम्पर्क गरी यसबारे आन्तरिक स्ल्याक च्यानलमा राखिएका पोस्टहरू पनि साझा गरेका रोयटर्सले उल्लेख गरेको छ।

घटनाबारे जानकारी भएका एक व्यक्तिका अनुसार अमेजनले १ हजारभन्दा कम सेतोपोश कर्मचारीलाई कामबाट हटाएको छ। यसअघि बिजनेस इन्साइडरले पनि कर्मचारी कटौतीबारे समाचार प्रकाशित गरेको थियो।

“हाम्रा प्राथमिकताहरू पूरा गर्न यो संरचनाले अझ राम्रोसँग सहयोग गर्ने विश्वास भएकाले हामीले हाम्रो स्टोर्स व्यवसायका केही भागमा समायोजन गरेका छौँ,” अमेजनका प्रवक्ताले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भने।

आन्तरिक स्ल्याक च्यानलमा राखिएका पोस्टहरूले स्टोर्सअन्तर्गतका ग्राहक सेवा र बिक्री साझेदार सेवासहितका केही विभाग प्रभावित भएको देखाएका छन्। अमेजनका अन्य केही युनिट पनि प्रभावित भएको हुन सक्ने देखिएको छ। अमेरिका, भारत र बेलायतमा कार्यरत कर्मचारीमध्ये केहीलाई पनि जागिरबाट हटाइएको छ।

अमेजनका संस्थापक तथा कार्यकारी अध्यक्ष जेफ बेजोसले बुधबार प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा महामारीका क्रममा कम्पनीले आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गरेकाले लगातार कर्मचारी कटौती गर्नुपरेको बताएका छन्।

अघिल्लो चरणमा ३० हजार कर्मचारीले गुमाएको रोजगारीबारे सोधिएको प्रश्नमा उनले भने, “मानिसहरू घरमै बसिरहेका थिए र सामान अर्डर गरिरहेका थिए। त्यो हाम्रा लागि निकै कठिन र तनावपूर्ण समय थियो।”

“पूरै टोलीले अत्यन्तै मेहनत गर्‍यो र धेरै काम गर्‍यो, तर हामीले वास्तवमै कर्मचारी संख्या धेरै बढायौँ,” उनले थपे।

प्रकाशित: २३ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार