स्पोटीफाईद्वारा १८० भन्दा बढी बजारमा अडियोबुक विस्तार

  • Technology Khabar | २४ आश्विन २०८३, शनिबार
स्पोटीफाईद्वारा १८० भन्दा बढी बजारमा अडियोबुक विस्तार

काठमाडौं ।

स्पोटीफाईले बुधबार विश्वभरका १८० भन्दा बढी बजारमा अडियोबुकको पहुँच विस्तार गर्ने घोषणा गरेको छ। यसमा यूरोप, अमेरिका, क्यारेबियन, मध्यपूर्व, अफ्रिका र एसियाका विभिन्न क्षेत्र समावेश छन्।

यसको विस्तार आजदेखि सुरु भएको छ र आगामी केही महिनासम्म जारी रहनेछ। यससँगै ७५ करोडभन्दा बढी प्रयोगकर्ताले अडियोबुक सुन्न सक्नेछन्। यसले स्पोटीफाईलाई संगीत स्ट्रिमिङ सेवा तथा अडिबलजस्ता अडियोबुक एपसँग प्रतिस्पर्धा गर्न थप सहयोग गर्नेछ।

यसअघि अडियोबुक मुख्य रूपमा अमेरिका, बेलायत, आयरल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता अंग्रेजीभाषी बजार तथा जर्मनीमा उपलब्ध थियो।

टेकक्रञ्चका अनुसार अडियो प्लेटफर्मले नयाँ बजारका लागि ३ लाख ५० हजारभन्दा बढी शीर्षक उपलब्ध गराएको जनाएको छ। कम्पनीले आफ्नो संग्रहलाई १२० भन्दा बढी भाषामा विस्तार गरेको छ। स्पेनमा सेवा सुरु भएपछि त्यहाँका प्रयोगकर्ताले स्पेनी भाषामा ४५ हजारभन्दा बढी शीर्षकमा पहुँच पाउनेछन्।

स्पोटीफाईले विभिन्न बजारमा उपलब्ध शीर्षकको संख्या बढाउन प्लानेटा र मोन्डाडोरीसहित विश्वभरका ३०० भन्दा बढी प्रकाशकसँग सहकार्य गरिरहेको छ।

प्रिमियम सदस्यता भएका प्रयोगकर्ताले ब्राजिल, मेक्सिको, कोलम्बिया, पोल्यान्ड, चिली, नर्वे र पेरुजस्ता योग्य देशमा १२ घण्टासम्म अडियोबुक सुन्न सक्नेछन्।

विश्वभरका प्रयोगकर्ताले १५ घण्टाको सीमा भएको ‘अडियोबुक प्लस’ छुट्टै सदस्यता पनि खरिद गर्न सक्नेछन्। त्यस्तै, प्रयोगकर्ताले आफूले चाहेको अडियोबुकका व्यक्तिगत शीर्षक पनि सिधै खरिद गर्न सक्नेछन्।

स्पोटीफाईले नोभेम्बरमा केही क्षेत्रका विद्यार्थी योजनामा ‘अडियोबुक प्लस’ एड-अन पनि थप्दैछ। कम्पनीका अनुसार गत वर्ष सुरु भएदेखि अडियोबुक प्लसका ग्राहक संख्या १० लाखभन्दा बढी पुगेको छ र यसबाट प्लेटफर्मले वार्षिक आवर्ती आम्दानी १० करोडभन्दा बढी प्राप्त गरेको छ।

फेब्रुअरीमा कम्पनीले ‘पेज म्याच’ फिचर सुरु गरेको थियो। यसले प्रयोगकर्तालाई भौतिक पुस्तकको कुनै पृष्ठ स्क्यान गरेर त्यसको अडियोबुकमा रहेको सम्बन्धित भाग पत्ता लगाउन र सुन्न  सघाउँछ। कम्पनीका अनुसार यो फिचर सुरु भएदेखि मासिक १० लाख मानिसले प्रयोग गर्दै आएका छन्।

स्पोटीफाईका अनुसार पछिल्लो एक वर्षमा अडियोबुकका मासिक श्रोता ४० प्रतिशतले बढेका छन् भने अडियोबुक सुन्न बिताइएको समय ३० प्रतिशतले बढेको छ।

यस वर्ष कम्पनीले लोकप्रिय शीर्षक पत्ता लगाउन ‘अडियोबुक चार्ट्स’ पनि सुरु गरेको थियो। त्यस्तै, एलाभेनल्याब्सका मोडल प्रयोग गरेर लेखकलाई आफ्ना पुस्तकलाई अडियोबुकमा रूपान्तरण गर्न सहयोग गर्ने कृत्रिम बुद्धिमतामा आधारित उपकरण पनि सार्वजनिक गरेको थियो। स्पोटिफाइले अमेरिका र बेलायतजस्ता केही बजारमा आफ्नो अडियोबुक प्लेटफर्ममार्फत भौतिक पुस्तक बिक्रीको पनि परीक्षण सुरु गरेको छ।

प्रकाशित: २४ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...