काठमाडौं ।
२०२७ मोडलको फक्सवागनकार चलाउनेले कारमै टेट्रिस गेम खेल्न सक्ने भएका छन्।
टेट्रिस फक्सवागनको एयरकन्सोल इन-भेहिकल मनोरञ्जन सेवामा समावेश २० वटा गेममध्ये एक हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा एयरकन्सोल च्याम्पियनशीप एडिशन र उनो कार पार्टी पनि उल्लेख गरिएको छ।
एन-ड्रीमले विकास गरेको यो प्लेटफर्म २०२७ का एटलस, एटलस क्रस स्पोर्ट, टिगुआन, गल्फ जीटीआई, गल्फ आर र आईडी मोडलका इन्फोटेनमेन्ट प्रणालीमा समावेश गरिएको छ।
इन्ग्याजेटका अनुसार गेम सुरु गरेपछि कारको डिस्प्लेमा गेम देखिन्छ र मोबाइल फोनलाई वायरलेस कन्ट्रोलरका रूपमा प्रयोग गर्न सकिन्छ। तर सुरुवातमा कति वटा मोबाइल उपकरणलाई समर्थन गरिनेछ भन्ने स्पष्ट छैन।
अन्य कुनै गेमिङ कन्ट्रोलर प्रयोग गर्न मिल्ने जानकारी पनि दिइएको छैन। त्यसैले गेम खेल्न स्मार्टफोन वा मल्टिप्लेयरका लागि एकभन्दा बढी स्मार्ट डिभाइस प्रयोग गर्नुपर्नेछ।
फक्सवागनका अनुसार केही गेममा निश्चित कारसँग एम्बियन्ट लाइटिङको सुविधा पनि जोडिनेछ। यसले खेलमा भइरहेको गतिविधिअनुसार कारको बत्ती परिवर्तन गर्नेछ।
कम्पनीले एयरकन्सोल को विशेष फक्सवागनसंस्करण पनि तयार गरेको छ। यसमा सामान्य पावर पेलेटको स्थानमा फक्सवागनका लोगो राखिएका छन् भने फलफूलको स्थानमा कार राखिएको छ।
एयरकन्सोल प्रयोग गर्न फक्सवागनको इन-भेइकल प्रिमियम सेवामा सदस्यता लिनुपर्नेछ। यस सेवामा वाई-फाई हटस्पट, विशेष नेभिगेसन सुविधा र अन्य कनेक्टेड सेवाहरू पनि समावेश छन्।
धेरैजसो २०२७ मोडलका कारसँग यो सेवाको तीन महिनाको निःशुल्क सुविधा उपलब्ध हुनेछ। त्यसपछि कार पार्क गरेर टेट्रिस लगायतका गेम खेलिरहन चाहनेले वार्षिक १४९ अमेरिकी डलर तिर्नुपर्नेछ। गेम लाइब्रेरी प्रयोग गर्न कार पार्क गरिएको हुनुपर्नेछ।
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार